रसुवा बाढीमा छोरो बेपत्ता भएपछि रामेछापमा आमाले लिइन् आफ्नै ज्यान

| भदौ २५, २०८३ बिहिबार

तस्बिर स्रोतः रामेछाप प्रहरी र पेमा शेर्पाको फेस्बुक ।
A A A
A A A

२५ भदौ, रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं १, गुम्देल निवासी ङिमा शेर्पा लामो समय देखि हाइड्रोपावर कम्पनीमा काम गर्थे । केही वर्ष आफ्नै गाउँ घर नजिकै  निर्माणाधीन लिखु हाइड्रो पावरमा काम गरेका ङिमा त्यहाँ काम सकिएपछि रोजगारीका लागि रसुवा हाइड्रोपावर कम्पनीमा कार्यरत थिए । ङिमाका दाजु दोर्जे पनि हाइड्रो क्षेत्रमै काम गर्दै थिए । यही भदौ १० गते अचानक भोटेकोशीमा भीषण बाढी आएपछि हाइड्रोपावर कम्पनीको कम्पाउन्ड भित्रै काम गर्दै गरेका ङिमा बेपत्ता भए ।

कम्पनीले ङिमाका परिवारसँग उनी जीवित नरहेको पुष्टि भइसकेको जानकारी गरायो । बुधवार रसुवा बाढी आए लगत्तै गाउँबाट छोरो खोज्न काठमाडौँ पुगेकी ङिमाकी आमा डोल्मा याङ्जी शेर्पालाई कम्पनीले छोरा जीवित नरहेका खबरसहित काठमाडौँबाट घर फर्काइदियो । 

 

बुबासँग पारिवारिक समस्याका कारण लामो समयदेखि आमाको साथमै रहेका माइलो छोरा ङिमा जीवित नरहेको खबरले डोल्मा याङ्जी बिच्छिप्त भएर घर त फर्किन तर उनले आफूले आफैलाई सम्हाल्न सकिनन् । काठमाडौँबाट घर आइपुगेको राति अर्का छोरा दोर्जेसहित आफन्तिजनसंग बाढीमा बेपत्ता भएका ङिमाको परम्परा अनुसार अन्तिम दाहसंस्कार गर्ने विषयमा अबेर सम्म छलफल गरेकी डोल्मा याङ्जी अन्ततः १६ गते राति उनले लगाएका सबै गरगहना घरमै सुरक्षित छाडेर सम्पर्क बिहिन् बनिन् ।

माइलो छोरा ङिमा बाढीमा बेपत्ता भएर शोकमा रहेको परिवारमा पुनः अर्को आपत्ति थपियो । १७ गते बिहानै देखि ५८ वर्षीय डोल्मा याङ्जिको खोजी कार्य सुरु भयो । सबै खोजी कार्यमा जुटे तर फेला पारिनन् । ५ दिन पछि मात्रै बसोबास गरी रहेको स्थानबाट निकै टाढा रहेको खोलामा उनले हाम फाली ज्यान लिएको अवस्थामा भेटिन् । घरबाट एउटा टर्च लाइटको साहारामा मध्य राति निस्किएकी डोल्मा याङ्जी अन्ततः छोराको पीडामा आफै जीवित रहिनन् । 

उमाकुण्ड गाउँपालिका वडा नं १, गुम्देल स्थित तेछीम निवासी भए पनि लामो समयदेखि गुम्देल नजिकै पर्ने व्यापारिक स्थल सोलु खुम्बुको लिखु पिके गाउँपालिकाको किन्जा भन्ने ठाउँमा लामो समयदेखि बसोबास गर्दै आएको डोल्मा याङ्जी सोलु खुम्बु तर्फ पर्ने खोलामा मृत भेटिएपछि पोष्ट मार्टमका लागि शव सोलु खुम्बुको सल्लेरी पुर्‍याइयो ।

पोष्ट मार्टमपछि मंगलबार उनको सल्लेरी स्थित शेर्पा समुदायको अन्तिम दाहसंस्कार गर्ने स्थानमा उनको अन्त्येष्टि गरिएको उनका भाइ पेम्बा शेर्पाले जानकारी दिए ।