मन्थलीमा अटो र मोटरसाइकल ठोक्कीदाँ दाजु बहिनी गम्भीर घाइते, हेली मार्फत काठमाडौँ लगियो
फाइल तस्बिर
२३ भदौ, रामेछाप । मन्थलीमा ओटो र मोटरसाइकल ठोक्किँदा दाजु बहिनी घाइते भएका छन् । घाइते दाजु बहिनीलाई मन्थलीमा उपचार सम्भव नभएपछि हेलिकप्टर मार्फत काठमाडौँ लगिएको छ ।
मन्थली नगरपालिका–१ हाटेचौरमा एकै दिशाबाट गुड्दै गरेको बा ६२ प २४७९ नम्बरको मोटरसाइकल र प्रदेश ०२–०७–००१८–००१ नम्बरको अटो ठोक्किएपछि मोटरसाइकलमा सवार दाजु रितुस र बहिनी रिबिसा थापा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कमल राउतले रामेछाप टाइम्सलाई बताए । ‘घाइते दाजु बहिनीलाई हेली मार्फत काठमाडौँ पठाएका छौं।’
इन्स्पेक्टर राउतका अनुसार दुर्घटनामा अटो चालक प्रविन माझी सामान्य अवस्थामै रहेका छन् । अटो चालक माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कच्ची बाटोमा समेत तीव्र गतिमा क्षमता भन्दा बढी यात्रु बोकेर जिल्लाका विभिन्न ठाउँमा नियम विपरीत अटो चलेको भन्दै आलोचन भइरहेको छ।
