रामेछापमा लुटपाट मच्चाउने एउटा गिरोह पक्राउ, मन्दिरका भेटी, खसी–बोका देखि सुन र नगदै लुट्ने ५ जना पक्राउ
हौसिएकै हो त रामेछाप प्रहरी२२ भदौ, रामेछाप । ‘लोभले बुद्धि हराउँछ, बुद्धि हराएपछि विनाश हुन्छ’ भन्ने बुढापाकाको भनाई आज रामेछाप खाँडादेवी गाउँपालिका मझुवाका दिर्घराज मोक्तान र पशुपति श्रेष्ठसहित ५ जना माथि ठ्याक्कै चरितार्थ भएको छ । गिरोह नै खडा गरेर वृद्ध दम्पतीलाई बन्धक बनाई डकैती गरेपछि खाँडादेवी–२, मझुवाका ३२ वर्षीय दिर्घराज मोक्तान र ३३ वर्षीय पशुपति श्रेष्ठसहित ५ जनालाई रामेछाप प्रहरीले ‘स्टिङ’ अप्रेसनै चलाएर पक्राउ गरेपछि प्रहरी खोरमा थुनिनु परेको हो ।
मोक्तान र श्रेष्ठसहितको ‘एक गिरोह’ले यही भदौको १८ गते मध्य राति १२ बजे रामेछापको खाँडादेवी गाउँपालिका वडा नं २, मझुवाको नेवारटोल निवासी ८५ वर्षीय वृद्ध बखतमान लामा र उनकी ८६ वर्षीय श्रीमती कान्छी माया तामाङ सुतिरहेको घरमा अचानक प्रवेश गरी वृद्ध वृद्धालाई प्लाष्टिकको टेपले हात र मुख थुनी, आँखामा पट्टी बाँधेर ज्यान मार्ने धम्की दिँदै नियन्त्रणमा राखेर गरगहना तथा घरमा राखेको नगद समेत लुटेर फरार भएका थिए । यसरी नकाबधारी बनेर लुट मच्चाई फरार भएको घटनामा रामेछाप प्रहरीले सूक्ष्म अनुसन्धान अगाडि बढाएको थियो । प्रहरीले अनुसन्धान गर्दै जाँदा आइतबार राति भक्तपुरको विभिन्न ठाउँबाट रामेछाप मझुवाका मोक्तान र श्रेष्ठसहित ५ जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।
पक्राउ गरी रातारात मन्थली ल्याइएका उनीहरूलाई रामेछाप प्रहरीले ‘आफ्नो इतिहासमा’ यसरी विरलै मात्रमा आरोपित व्यक्तिहरू पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने स्थितिलाई चिर्दै जिल्लामा सामूहिक कुटपिट र लुटपाटका घटना बढ्दै जाँन थालेपछि रामेछाप प्रहरीले ‘गिरोहको संज्ञा’ दिएर आरोपितहरू सार्वजनिक गरेको हो । गाउँ–गाउँमा वृद्ध वृद्धा मात्रै बसोबास गर्ने परिस्थितिको फाइदा उठाउँदै चोरी र लुटपाट मच्चाएका रामेछापका दुई भाइसहित सिन्धुली, धनकुटा र झापाका १–१ जनालाई नियन्त्रणमा लिएर चोरी र लुटपाटका सामाग्रीसहित देखाएको हो ।
पक्राउ पर्नेमा सिन्धुली घ्याङलेख गाउँपालिका–२ का २५ वर्षीय सुमन जर्गा मगर, झापा दमक नगरपालिका–७ का ४४ वर्षीय पीताम्बर गहतराज तथा धनकुटा बेलहारा नगरपालिका–५ का ३८ वर्षीय दीपक भन्ने गुणराज विश्वकर्मा रहेका छन्। प्रहरीले उनीहरूको साथबाट नगद रकम, मोबाइल फोन, मोटरसाइकल, बैंकका कागजात तथा चेक, नागरिकता, विभिन्न गरगहना, सुनजस्तो पहेँलो धातुका औँठी, पुराना सिक्का लगायतका सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख एवं (डिएसपी) सन्तुलाल जैशवारले बताउनु भयो ।
(डिएसपी) जैसवालका अनुसार पक्राउ परेका ५ जनाको साथबाट एक एकमुस्ट १ लाख ८९ हजार ६ सय ७४ रुपैयाँ नगद हात पारेको जनाएको छ । आस्था र विश्वासको केन्द्र मन्दिरमा तोडफोड गरी चोरी गरेका पशुपति श्रेष्ठको समूहले खाँडादेवी गाउँपालिका वडा नं ०७ मा रहेको रुद्रेश्वर महादेव मन्दिरको दान पेटिका फुटाई भक्तजनले दान गरेको दक्षिणा समेत लुटेर लागेको घटनामा संलग्न रहेको पुष्टि भएको छ । त्यति मात्रै हैन श्रेष्ठको समूहले गएको असार १ गते रातिको समयमा खाँडादेवी गाउँपालिका वडा नं ३, भिरपानीमा सुन्दरी श्रेष्ठको एउटा खसी र यही भदौको ७ गते राती मात्रै सोही ठाउँका राम बहादुर श्रेष्ठको एउटा बोका समेत चोरी गरेको घटनामा संलग्नता अनुसन्धानबाट पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कमल राउतले जानकारी दिनु भयो।

आफै फिल्डमा खटिएर स्ट्रिङ अपरेसन चलाएका इन्स्पेक्टर एवं रामेछाप प्रहरीका सूचना अधिकारी राउतले पशुपति श्रेष्ठ प्रहरी वृत्त कालीमाटीबाट डाँका तथा चोरी कसुरमा र दिर्घराज मोक्तान जिल्ला प्रहरी कार्यालय रामेछापमै अभद्र व्यवहार मुद्दाका आरोपित रहेको सुनाए । यसको अर्थ उनीहरू एक भन्दा बढी आपराधिक क्रियाकलापमा संलग्न पुष्टि भएको रामेछाप प्रहरीको भनाई छ।
पक्राउ परेका ५ जनाकै क्रिमिनल रेकर्ड चेकजाँच गर्दा धनकुटाका गुणराज विश्वकर्मा प्रहरी वृत्त बौद्ध काठमाण्डौबाट जुवा सम्बन्धी कसुर मुद्दामा संलग्न पुष्टि भएको हो । पक्राउ परेका व्यक्तिहरूको संलग्नता अन्य चोरीका घटनामा समेत रहेको हुनसक्ने भन्दै प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ । ५ जनाको गिरोहको नेतृत्व कसले गरिरहेको छ भन्ने बारेमा थप अनुसन्धान भइरहेको रामेछाप प्रहरीको भनाई छ । रामेछाप प्रहरीले ठुलो सफलता हात पारेको दाबी गरिरहेका आरोपित पाँच जनालाई पक्राउ गरेसँगै घटनाको थप अनुसन्धान अघि बढाएको छ। पक्राउ परेका व्यक्तिमाथि कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
