रसुवा बाढी प्रभावितलाई प्याबसनले १० करोड दिने, मन्थली केब्सका विद्यार्थीले ८७ हजार बढी रकम जम्मा गरे
२२ भदौ, रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा सञ्चालित कर्कला देवी बोर्डिङ स्कुल (केब्स) का विद्यार्थीले भोटेकोसी बाढी पीडितलाई आर्थिक सहयोग गरेका छन् । स्व स्फूर्त रूपमा बाढी प्रभावितहरूलाई विद्यार्थीहरूले आर्थिक संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा सहायता रकम जम्मा गरिएको विद्यालयका प्रधानाध्यापक केशव तिमल्सिनाले जानकारी दिए ।
उनका अनुसार विद्यालयमा अध्ययनरत ६ सय जना विद्यार्थीहरूले संकलन गरेको रु ८७ हजार ५ सय ७८ रुपैयाँ कोषमा जम्मा गरिएको हो । विद्यार्थीहरूले बाडीपीडित बालबालिकाहरूका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले स्वेच्छिक रूपमा रकम संकलन गरी जम्मा भएको ३८ हजार २२२, दान पेटिकामा संकलन भएको रु ८ हजार १६१ र स्कुलमा कार्यरत सबै शिक्षक/कर्मचारीले २ दिनको तलब बराबरको रु ४१ हजार १९५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषको खातामा जम्मा गरिएको प्रिन्सिपल तिमल्सिनाले जानकारी दिए ।
सोमबार विद्यालयमा शोक सभा समेत आयोजना गरी बाढीमा परी ज्यान गुमाएका प्रति श्रद्धाञ्जली सभा सहित स्मरण गरिएको रामेछाप (प्याब्सन) का अध्यक्ष समेत रहेका प्रिन्सिपल तिमल्सिनाले बताए । रसुवा बाढीमा (केब्स) स्कूलका पूर्व विद्यार्थी समेत रहेका मन्थली–१ का सुन्दर श्रेष्ठ बेपत्ता भइरहेको दुःखद अवस्थामा स्कुल परिवार पनि शोकमा रहेको भन्दै विद्यालय प्रशासनले सोमबार आधा झण्डा झुकाएर शोक मनाएको थियो ।

निजी विद्यालय सञ्चालकहरूको साझा संगठन (प्याब्सन) को तर्फबाट देशभरका संस्थागत विद्यालयहरूबाट सहायता रकम जम्मा गरी आउँदो बिहीबार करिब १० करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण गर्न लागेको प्याबसन रामेछापका अध्यक्ष तिमल्सिनाको भनाई छ।
अकल्पनीय बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विद्यार्थी साथीलाई आफूले सकेको सानो सहयोग गर्न पाएकोमा स्कुल क्याप्टेन युनिशा श्रेष्ठले खुसी व्यक्त गरिन ।


