गोकुलगंगा बन्यो कर सेवा प्रवाह गर्ने जिल्लाकै पहिलो पालिका : आन्तरिक राजश्वसँग गर्‍यो सम्झौता

| भदौ ३१, २०८३ बुधबार

A A A
A A A

३१ भदौ, रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिकाका नागरिक तथा व्यवसायीले अब स्थानीय तहमै करसम्बन्धी सेवा प्राप्त गर्ने भएका छन्। कर सम्बन्धित सेवा लिन जिल्ला सदरमुकाम सम्मा धाउनु पर्ने बाध्यता हटाउँदै समय, खर्च र झन्झट न्यूनीकरण गर्ने उद्देश्यले गाउँपालिकाले कर सम्बन्धी सेवा स्थानीय तहले सञ्चालन गर्ने भएपछि स्थानीयलाई सहज हुने भएको हो । 

 

योसँगै सरकारले करसँग सम्बन्धित विभिन्न कार्य स्थानीय सरकारबाटै उपलब्ध गराउने निर्णय कार्यान्वयन गर्ने गोकुलगंगा गाउँपालिका पहिलो पालिका बनेको छ । व्यवसाय दर्ता तथा खारेजी गर्न स्थानीयलाई सहज बन्ने अपेक्षा गरिएको छ । 

 

बुधवार गाउँपालिकाको तर्फबाट उपाध्यक्ष उषादेवी कार्की तथा वडा नं ३, का वडा अध्यक्ष नर विक्रम कार्की, प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराई र आन्तरिक राजस्व कार्यालय धुलिखेलका निमित्त प्रमुख कर अधिकृत लक्ष्मण ढुंगानाबिच गाउँपालिकाबाटै कर सम्बन्धी सेवा प्रवाह गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको गाउँपालिकाले जानकारी दिएको हो । 

सम्झौता सँगै अब निकट भविष्यमै गाउँपालिकाले व्यक्तिगत तथा व्यावसायिक प्यान, भ्याट प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, अन्तःशुल्क इजाजत पत्र लगायतका सेवा प्रवाह गर्ने छ । सेवा सञ्चालनका लागि आवश्यक प्राविधिक तथा भौतिक पूर्वाधार तयार गर्ने काम भइरहेको गाउँपालिकाले जनाएको छ। 

 

सरकारले विगतमा करदाता सेवा कार्यालय मन्थलीबाट प्रदान हुँदै आएको सेवा कटौती गर्दै स्थानीय स्तरबाटै नागरिकलाई सहजपुरमा सेवा प्रदान गर्ने योजना अगाडि ल्याएको थियो । करदाता सेवा कार्यालय खारेज गरेपछि कोष तथा लेखा नियन्त्रक कार्यालयबाट आंशिक सेवा प्रवाह हुँदै आएको छ । 

रामेछाप टाइम्स
| भदौ २१, २०८३ आइतबार