बन्ने भयो रामेछाप र ओखलढुङ्गा जोड्ने लिखु नदीमाथि अहिले सम्मकै लामो झोलुङ्गे पुल

| असोज २२, २०८० सोमबार

A A A
A A A

२२ असोज, रामेछाप । रामेछापको साँघुटार र ओखलढुङ्गा जिल्लाको नर्मदेश्वर सिमाना भएर बग्ने लिखु नदीमाथि अहिले सम्मकै लामो झोलुङ्गे पुल बन्ने भएको छ । अब बन्ने पुल लिखु नदीमा बनेको अहिले सम्मकै सबै भन्दा लामो झोलुङ्गे पुल हुने दाबी गरिएको छ । 

 

आइतबार रामेछाप नगरपालिका वडा नं ३ साँघुटारमा रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपाने,प्रमुख प्रशासकीय अधिकृत मित्रप्रसाद घिमिरे, लिखु गाउँपालिकाका अध्यक्ष अशोक कुमार कार्की र प्रमुख प्रशासकीय अधिकृत लीलाराज श्रेष्ठ, रामेछाप नगरपालिका वडा नं ३ का वडा अध्यक्ष दलबहादुर प्रधान, लिखु गाउँपालिका ३ का अध्यक्ष सोकर्ण श्रेष्ठ, ५ नम्बर अध्यक्ष मोहन कार्की, पूर्व वडा अध्यक्षहरू भूपालराज श्रेष्ठ, गोपाल खड्का लगायतको उपस्थितिमा बसेको बैठकले पुल बनाउने निर्णय गरेको हो । 

 

पुल नहुँदा स्थानीयहरू करिब डेढ घण्टाको पैदल बाटो घुम्नु पर्ने बाध्यता छ । पुल बने यो बाध्यता हट्ने छ, भने विद्यालय ओहोर-दोहोर गर्ने बालबालिकालाई विशेष राहत हुने छ । साथै ओखलढुङ्गा जिल्लाको चर्चित पोकली झर्ना जाने पर्यटकको सङ्ख्यामा समेत वृद्धि हुने अपेक्षा गरिएको छ । 

रामेछाप नगरपालिकाको वडा नं ३ साघुटारको खुमलटार छेउबाट र ओखलढुङ्गाको वडा नं ३ नर्मदेश्वर भएर बग्ने लिखु नदीमाथि करिब ६ सय मिटर लामो झोलुङ्गे पुल बन्ने निर्णय गरिएको साँघुटारका वडा अध्यक्ष दलबहादुर प्रधानले रामेछाप टाइम्सलाई बताए । ‘पुल बन्नाउने निर्णय भएको हो । काम अगाडि बढ्छ । यो पुल लिखु नदीमा हाल सम्म बनेका पुल भन्दा लामो हुन्छ । लम्बाई अहिले अन्दाज मात्रै गरिएको हो । ’

 

संघीय सरकारको बजेटबाट निर्माण हुने उक्त पुल बनाउनको लागि रामेछापका प्रतिनिधि सभा सांसद पूर्णबहादुर तामाङ ‘कान्छाराम’ ले बजेट व्यवस्थापन गर्ने बचन दिएका थिए । सोही अनुसार झोलुङ्गे पुलको लागि कार्यक्रम परेको छ । ‘बजेट यती भन्ने फिक्स भएको छैन । कार्यक्रम परेको छ, वडा अध्यक्ष प्रधानले रामेछाप टाइम्ससंग भने ।

 

पुल निर्माणको लागि रामेछापतर्फ साँघुटार र ओखलढुङ्गाको नर्वदेश्वर सम्म लिखु नदी माथि निर्माण हुने झोलुङ्गे पुलको जग बस्ने स्थान दुवै तर्फका सार्वजनिक परेको छ । जग खन्ने क्रममा दुवै पालिका स्थानीयहरू/जग्गा धनीहरूले माटो, ढुङ्गा वा निर्माण सामाग्री खसेमा कुनै पनि प्रकारको बाधा÷अवरोध सिर्जना गर्ने छैनन् ‘यदि कुनै बाधा/अवरोध सिर्जना भएमा दुवै पालिकाका सम्बन्धित वडा अध्यक्षहरूबाट समस्या समाधान गर्ने’ निर्णय गरिएको उल्लेख छ ।