छात्राहरूको पठनपाठनमा आर्थिक र प्राविधिक सहयोग गर्दै आएको रेष्टले स्थानीय सरकार समक्ष गर्‍यो समीक्षा

| असार २०, २०८३ शनिबार

A A A
A A A

२० असार, रामेछाप । ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रुष्ट) ले चालु आर्थिक वर्षमा रामेछापका चार स्थानीय तहमा संचालन गरेका कार्यहरूको वार्षिक समीक्षा सम्पन्न गरेको छ । राष्टेले मन्थली नगरपालिकासहित खाँडादेवी, लिखु तामाकोशी र गोकुलगंगा गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । 

 

रेष्टले जिल्लाको खाँडादेवी गाउँपालिकामा २७ लाख ७१ हजार २८६ रुपैयाँ बजेट मध्ये २३ लाख ४१ हजार ७३७ रुपैयाँ खर्च गरेको जनाएको छ । त्यस्तै, लिखु तामाकोशी गाउँपालिकामा ३० लाख ६२ हजार ६५३ रुपैयाँ बजेट मध्ये २६ लाख ६४ हजार ५१६ रुपैयाँ खर्च गरेको जनाएको छ । 

 

शिक्षा, जनचेतना तथा क्षमता अभिवृद्धिको माध्यमबाट मानवबेचविखन, बाल विवाह, घरेलु तथा लैङ्गिक हिंसा जस्ता सामाजिक कुरीति निर्मूल गर्ने परिकल्पनाका साथ काम गर्दै आएको यो गैरसरकारी संस्थाले शिक्षा, स्वास्थ्य लगायत महिला अधिकार संरक्षण तथा संवर्द्धन गर्ने, लैङ्गिक हिंसा तथा लिङ्ग, जात, धर्म आदिको आधारमा हुने विभेद तथा हिंसाको अन्त्य गर्ने र समुदायस्तरमा सञ्जाल, अभियान, पैरवी, क्षमता तथा चेतना अभिवृद्धि गर्न धमाधम काम गर्दै आएको छ । 

साथै, अभिभावक विहीन बालिकाहरूको पठनपाठनमा विशेष टेवा पुर्‍याउने उद्देश्यले यस संस्थाले (कक्षा १ देखि १० सम्म) विद्यालय पोसाक, झोला स्विटर, कापी, डट्पेन पेन्सिल, इरेजर, कटर र ज्यामिति बक्स सहयोग गर्दै आएको छ । रेष्टले कक्षा १ – ९ का बालिकालाई ८ सय, कक्षा ८ र ९ लाई २ हजार, कक्षा १० का विद्यार्थीलाई ८ हजार र कक्षा ९ र १० का विद्यार्थीहरूलाई ८ सय र २२०० सय (विद्यार्थीको अवस्था हेरेर) सहयोग उपलब्ध गराउँदै आएको छ ।

 

आर्थिक अवस्थाकै कारण छात्राहरू पठनपाठनबाट टाढा नरहुन् भन्ने ध्येयका साथ धमाधम काम गर्दै संस्थाले जिल्लामा कार्यक्रम लागू गरेका सबै पालिकाका सम्बन्धित जनप्रतिनिधि, शिक्षक र लाभान्वित छात्राहरूसहितको सहभागितामा अन्तरक्रिया मार्फत आफूले गरेका कार्यहरूको समीक्षा गरेको हो । शुक्रवार जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा नगर प्रमुख लव श्रेष्ठसहितको उपस्थितिमा अन्तरक्रिया तथा छलफल गरी संस्थाले छात्राहरूको पठनपाठनमा पुर्‍याएको योगदानको बारेमा चर्चा गरेको रुष्ट फोकल पर्सन रामेछापकी विनीता थापाले रामेछाप टाइम्सलाई बताइन् ।

 

अन्तरक्रियामा सहभागीहरूले रेष्टले संचालन गर्दै आएका विविध गतिविधिहरू सकारात्मक र स्थानीय सरकारलाई सहयोगी बनिरहेको भन्दै आगामी दिनमा थप  विद्यार्थीहरू सम्म पुर्‍याउन आवश्यक रहेको धारणा राखे ।