उमाकुण्डमा नेपाल टेलिकमको सेवाबाट सेवाग्राही हत्तु हैरान : ‘घाम संगै फोन पनि जान्छ’
२४ असार, रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिकामा नेपाल टेलिकमका सेवाग्राही हैरान भएका छन् । फोन नलाग्ने, लागेपनि कुरा नबुझिने, सम्पर्क नहुने र धेरै ठाउँमा टावरै नटिप्ने समस्या व्याप्त बनेपछि स्थानीयहरु दिक्कदार बनेका हुन् । पछिल्लो समेत टेलिकमको लापरबाहीबाट हत्तुहैरान भएपछ स्थानीयहरुले विकल्प खोज्न थालेका छन् ।
पालिकाको वडा नं ७, भुजी, ६ गुप्तेश्वर, ४ र ५ प्रीति, र ३ कुबुँकास्थलीका अधिकांश ठाउँमा नेपाल टेलिकमको टेलिफोन फोन सेवा अवरुद्ध जस्तै बन्दा सेवाग्राही मर्कामा परेका हुन् । पछिल्लो समय नेपाल टेलिकमको सेवाबाट हैरान खेपेका स्थानीयहरू एनसेलको सिम बोकेर केही सम्म राहत लिन थालेको सेवाग्राहीको भनाई छ । ‘अधिकांश ठाउँमा फोन लाग्दैन, सम्पर्क हुँदैन, लागे पनि कुरा बुझिँदैन र रातको समयमा त टावरै टिप्दैन’ स्थानीय जितमान वि कले भने ।
गाउँपालिकाको वडा नं ४ प्रीति स्थित च्यादलु बजार माथिको डाँडामा ठड्याइएको नेपाल टेलिकमको टावरले आसपासका नजिकैको क्षेत्रमा टावर नटिप्दा समस्या भएको सेवाग्राहीहरूको गुनासो छ।
वडा नं २, बाम्तिभण्डारको देउराली डाँडामा राखिएको टावरले सेवा दिँदा केही सहज रहेको अवस्थामा वडा नं १, गुम्देलमा भने सोलुखुम्बुको लिखु पिके गाउँपालिकाको छिरिङ खर्कमा ठड्याइएको टावर मौसमको कारण चार्ज नहुँदा समस्यामा छ । यहाँ (गुम्देल) का स्थानीयहरूलाई आदत नै परिसक्यो कि घाम लाग्दा टावर आउँछ पानी पर्दा आउँदैन’ स्थानीय युवा युवराज विश्वकर्माले भने ।
लिखु खोलामा बनेका आधा दर्जन जल विद्युत् आयोजनाले नपत्याउँदा सोलार चर्चाको भरमा टिकेको टावरले घाम नलाग्दा चार्ज हुने नसक्ने भएपछि गुम्देलसहित आसपाशका क्षेत्रमा टेलिकमको सेवा पूर्ण रूपमा अवरुद्ध हुन्छ । ‘बर्खा र झरीको बेलामा थप धेरै तिरको सम्पर्क आवश्यक पर्नेमा यहाँ ठिक उल्टो छ’, स्थानीय नरबहादुर विश्वकर्माले थपे ‘टावर नभएपछि कहाँ के भयो खबर लिन निकै ग्राह्रो परेको छ।

अधिकांश हिमाली र पहाडी भूगोलका कारण पनि मौसम परिवर्तन चाँडै भइ रहने यो पालिकामा सोलारको चार्जले धाने सम्म टावर चल्ने गरेको छ । भुजी, गुप्तेश्वर र पालिकाको केन्द्र नै रहेको च्यादलुमा समेत फोन सम्पर्क नहुँदा कर्मचारी र शिक्षकहरू समेत मर्कामा परेका छन् । टेलिफोन भनेको बेलामा नलाग्ने हैरानीले सताएका त्यहाँका स्थानीयहरूले टेलिकमले राखिएका टावरमा समेत ध्यान पुर्याउन नसक्दा त्यस्तो सास्ती खेप्नु परेको गुनासो गरेका छन् ।
टेलिकम मन्थलीका कर्मचारी यसो भन्छन् ?
यसरी उमाकुण्डमा च्यादलु टावरले काम नगर्दा स्थानीयहरू हैरान भएको विषय सुनाउँदा नेपाल टेलिकमका कर्मचारी भुवन अधिकारीले उक्त समस्या बारेमा आफूहरूलाई पनि गुनासो आएको स्वीकार गर्दै समस्या समाधान भने केन्द्रले गर्ने बताउँछन् । ‘यस बारेमा हामीलाई लिखितै पनि गुनासो आएको छ तर हामीले यहाँ आएका गुनासोलाई माथि फरवार्ड गर्न बाहेक केही अधिकार छैन ।’
च्यादलुमा राखिएको टावरले काम गरे, नगरेको बारेमा समेत यहाँ थाहा नहुने बताएका उनले कालो चौतारा, दुम्जा खोला, कुँबुँ, सुर्मा खोला, चण्डी थाना लगाएका स्थानबाट गुनासो आएको बताए ।
त्यस्तै, टेलिकम मन्थलीका निमित्त प्रमुख समेत रहेका प्रदीप कार्कीले उक्त समस्या समाधान गर्न यहाँ शाखाले मात्रै नसक्ने उल्लेख गर्दै प्रभावित स्थानीहरूले एक ढिक्का भएर लिखित माग राखेमा सुनुवाइ हुन सक्ने बताए ।
‘सांसद कृष्णहरिको स्टन मात्रै’ !
गत २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित भएका सांसद डा.कृष्णहरि बुढाथोकीले निर्वाचित भएको केही समयमै सामाजिक सञ्जालमा लेख्दै रामेछाप जिल्लामै टेलिफोनको समस्या समाधान गर्न विशेष चासो सहित काम गर्न थालेको बताएका थिए । उनले गुम्देल, प्रीति लगाएका स्थानीयहरूलाई मत दिइएकोमा धन्यवाद दिन पुगेको बेलामा टेलिफोनको समस्या समाधान गर्ने बचन दिएर आएका थिए । ‘महिना बित्यो तर उक्त समस्या समाधानको पहल समेत भएको सुनिएन ।’
सांसद बुढाथोकीले गाउँ घरमा पुग्दा मात्रै नभएर सामाजिक सञ्जालमै स्ट्याटस लेखेर टेलिफोनका समस्या भएका ठाउँहरूको बारेमा आफूलाई जानकारी गराउन भनेका थिए । धेरैले उनको स्टाटस्मा समस्या बारेमा लेखेका थिए तर ती माग कसरी सम्बोधन भइरहेको छ त्यो भने हेर्न बाँकी छ । संसद्को रोस्टमै बोल्दै जिल्लाको टेलिफोन समस्या बारेमा बोले पनि समाधानमा उनकै दलको सरकारले ध्यान नपुर्याउँदा सास्ती खेप्नु परेको प्रभावितहरूको गुनासो छ ।

