थाइल्यान्डमा सम्पन्न ‘मुवाँ थाई’मा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीलाई नगदसहित सम्मान

| असार २२, २०८३ सोमबार

A A A
A A A

२२ असार, रामेछाप। रामेछापको मन्थली नगरपालिका वडा नं ३, कठजोरले खेलकुदको माध्यमबाट देशको नाम विश्वभर फैलाउन सहयोग पुर्‍याएको भन्दै युवा खेलाडी सुजल बुढाथोकीलाई सम्मान गरेको छ । आफ्नो ज्यानै जोखिममा राखेर उत्कृष्ट खेल प्रदर्शन गर्न सफल भएकोमा बधाई दिँदै नगद २० हजार सहित सम्मान पत्र र दौसल्ला ओढाएर भव्य सम्मान प्रदान गरेको हो । 

 

गएको असार ११ गते एवं सन् २०२६ को जुन २५ देखि २९ सम्म थाइल्याण्डको ब्याङ्ककमा सम्पन्न “अमेजिङ मुवाँ थाई विश्व महोत्सव २०२६’ अन्तर्गत ६० केजी तौल समूहमा विश्व च्याम्पियन खेलाडीसँग ‘डब्लु बिसी मुवाँ थाई विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गरी उपविजेता बनेका वडावासी २० वर्षीय सुजलले ‘अप्रत्याशित’ सफलता हात पारेको भन्दै वडाले सम्मान प्रदान गरेको हो । 

वडा कार्यालयमा पञ्चेबाजासहित भव्य कार्यक्रममा वडा अध्यक्ष कृष्ण गोपाल थापाले खेलमा उत्कृष्ट प्रदर्शनी देखाएका सुजललाई राष्ट्रिय प्रशिक्षक (कोच) सन्जेन थापासहितको उपस्थितिका बिच नगद २० हजारसहित सम्मान प्रदान गरेका हुन् । खेलाडी र कोच दुवै जनालाई सम्मान प्रदान गर्दै वडा अध्यक्ष थापाले भने ‘मसँग उहाँहरूको खुसी साट्ने कुनै शब्द नै छैन।’

 

खेलको माध्यमबाट वडा, जिल्ला हुँदै सिंगो देशको नाम विश्वभर चिनाउन सफल हुनु सबैको लागि गौरवको विषय रहेको पटक–पटक उल्लेख गरेका अध्यक्ष थापाले आगामी दिनमा थप सशक्त रूपमा आफ्नो कला देखाएर गोल्डै मेडल जिताउने अपेक्षा व्यक्त गरे । निकै हर्षित भएको बताएका वडा अध्यक्ष थापाले युवाहरूको क्षमताको कदर र प्रोत्साहन गर्न वडाले सम्मान गरेको बताए । 

कोच सान्जेन थापाका अनुसार नेपालबाट ‘डब्लु बिसी मुवाँ थाई’ प्रतियोगितामा थापा नेतृत्वको टिम नै पहिलो पटक भाग लिएको र सफलता हात पार्न सफल भएको हो । ‘त्यो भन्दा अगाडि अरू कोही ले पनि भाग लिएका थिएनन्, हामी पहिलो प्रयासमै सफलै भयो’ । खेल मैदान प्रवेश गर्दै गर्दा नेपालबाट जम्मा तीन जना मात्रै गएको स्मरण गर्दै प्रशिक्षक थापाले सुनाए ‘हाम्रो गुरुपलाई कसैले पत्याएकै थिएन, तर पछि हामीले सबैलाई हराउन सफल भयौँ ।’

 

त्यस्तै सोही वडाका निवर्तमान वडा अध्यक्ष केशव रोकाले पनि खेलद्वारा विश्व सामु देशलाई चिनाउन सफल खेलाडीहरूलाई बधाई दिँदै तीन तहका सरकारले उनीहरूको संरक्षण र प्रवर्द्धनमा टेवा पुर्‍याउन लाग्नु पर्नेमा जोड् दिए । नेपाली काँग्रेसका नेता समेत रहेका रोकाले स्रोत र साधानले भ्याए सम्म खेलाडीहरूलाई  सम्मान, संरक्षण र तालिमका कार्यक्रमहरू लागू गर्नु पर्नेमा उनको जोड् छ । 

 

साथै, उनीहरूलाई मन्थली नगरपालिकाले पनि सम्मान गरेको छ । नगर प्रमुख लव श्रेष्ठले उनीहरूलाई नगरमा सम्मान पत्रद्वारा सम्मान गरेका हुन् । नगरपालिकाले गरेको सम्मानमा १६ औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ४०० मिटर दौडमा ऐतिहासिक रेकर्ड राख्न सफल बनेकी मन्थली नगरपालिका वडा न ४, सालुकी भगवती खड्कालाई सम्मान प्रदान गरिएको नगर खेलकुद संयोजक देवेन्द्र श्रेष्ठले जानकारी दिए । 

वडा नं ३ को कार्यालयमा गरिएको भव्य सम्मान कार्यक्रममा वडा स्थित नेकपा एमालेको वडा कमिटी र बुढाथोकी समाजले पनि सम्मान पत्रसहित विजेता खेलाडीहरुलाई सम्मान प्रदान गरेका थिए ।