१० दिने ‘लोकल गाइड ट्रेनिङ’ सकियो, प्रशिक्षकले भने ‘रामेछापमा पर्यटन प्रवर्द्धन उच्च’ सम्भावना देखे
२४ जेठ, रामेछाप । रामेछापमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई घुमाउनको जनशक्ति तयार पार्ने उद्देश्यले सञ्चालित १० ‘लोकल गाइड ट्रेनिङ’ सम्पन्न भएको छ । बागमती प्रदेश र मन्थली नगरपालिकासँगको लागत साझेदारीमा तामाकोशी मरिण एड्भेन्चर प्रा.लि.ले यहाँका ३० जना युवाहरूलाई तालिम दिएको हो ।
जिल्ला सदरमुकाम मन्थली स्थित ढिकुरे मन्दिर, चिसापानी गढी, चिसापानी होमस्टे, भिमशेन थानमा स्थलगत अवलोकन एवं भ्रमण समेत गराइएको तालिममा कुनै पनि ठाउँमा घुम्न आउने पर्यटकहरूलाई सहज रूपमा घुमाउने विविध विषयहरूका बारेमा सिकाइएको प्रशिक्षक राम खनालले बताए । विगत ४० वर्ष देखि ‘गाइड’ क्षेत्रमा सक्रिय खनालले रामेछापमा उच्च पर्यटकीय सम्भावना रहेको बताउँदै तालिममा सहभागीले त्यसलाई व्यवस्थित एवं स्थलगत रूपमा काम गर्न सक्नु पर्नेमा ध्यानाकर्षण गराए । उनले भने ‘रामेछाप एकदमै सम्भावना रहेको ठाउँको रूपमा पाएँ, साथीहरूले यसलाई व्यवस्थित गरेर जानु पर्यो।’
विश्वका विभिन्न मुलुक भ्रमण गर्दा सँगालेका अनुभवहरू सुनाउँदै प्रशिक्षक खनालले भने ‘तपाई हामीलाई पाउनाको कसरी सत्कार गर्नु पर्छ भन्ने राम्रो ज्ञान छ र मैले स्थलगत रूपमा जाँदा राम्रो अनुभव गरे ।’ तामाकोशीमा र्याफ्टिङ सुरुवाती चरणमा रहेको उल्लेख गरेका उनले त्यसलाई व्यवस्थित र प्रचारप्रसार गर्न सुझाए ।
त्यस्तै, बागमती प्रदेशका सांसद आनन्द कुमार श्रेष्ठले पनि पर्यटन प्रवर्द्धन सबैले आ–आफ्नो ठाउँबाट लाग्नु पर्ने धारणा राखे । एकै पटकको प्रयासमा पर्यटन प्रवर्द्धन सम्भव नभएको तर्क गर्दै यसमा निरन्तर काम गर्नु पर्नेमा उनको भनाई छ ।
सो अवसरमा केही अगाडि सगरमाथाको सफल आरोहण गर्न सफल मन्थली नगरपालिका–६, भलुवाजोर निवासी धानु कुमार श्रेष्ठलाई मन्थली नगरपालिका र तामाकोशी मरिण एड्भेन्चर प्रा.लि.ले सम्मान गरेका छन् । उनलाई नगरपालिका प्रमुख लव श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत र प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटा सहितको उपस्थितिमा सम्मान पत्र र नगरपालिका भित्रका प्रमुख धार्मिक, सांस्कृतिक एवं उच्च पर्यटकीय सम्भावना बोकेका स्थलहरूको विवरणसहितको तस्बिर हस्तान्तरण गरिएको हो ।
नगर प्रमुख श्रेष्ठले युवा आरोही श्रेष्ठलाई बधाई दिँदै नगरको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याएको भन्दै धन्यवाद दिए । साथै, उनीसँग छलफल गरेर थप पर्यटकीय योजनालाई अगाडि बढाउने प्रतिबद्धता जनाए ।
विभिन्न निकायसंग सहकार्य गर्दै तालिम आयोजना गरेर युवाहरुलाई पर्यटकहरुको लागि तयार पार्ने प्रयास गरिएको सुनाउँदै आयोजक एवं तामाकोशी मरिण एड्भेन्चर प्रा.लि.का संचालक सागर हरि अधिकारीले थप क्रियाशिल भएर लाग्नु पर्नेमा जोड् दिए ।
युवा आरोहीलाई शनिवार रामेछाप नेवा समाजले पनि भव्य कार्यक्रमका बिच सम्मान गरेको थियो ।
