बाँदर धपाउन जाँदा भिरबाट लडेर रामेछाप चिसापानीका खत्री गम्भीर घाइते
०१ असार, रामेछाप । सरकारको समेत टाउको दुखाइको विषय बनिरहेको बाँदर आतङ्कको कारण रामेछापका एक वृद्ध थप मारमा परेका छन् । उनी बाँदरकै कारण बारीमा रोपेको अन्न जोगाउन बाँदरसँग भिड्नु पर्ने अवस्था आएपछि दुर्घटनामा पर्दा गम्भीर घाइते बनेका हुन् । गम्भीर घाइते वृद्धको उद्धार गरी धुलिखेल अस्पताल लगिएको हो ।
सोमबार बिहान बारीमा बाँदरको हुप पसेपछि धपाउन जाँदा मन्थली नगरपालिका वडा नं ८, साबिक वडा नं २ निवासी ठेटबहादुर खत्री भिरबाट लड्दा गम्भीर घाइते भएको छोरा (भतिजो) बासु प्रसाद ढुङ्गेलले रामेछाप टाइम्सलाई बताए । ‘बाँदर धपाउन जाँदा उहाँ भीरबाट लडेर टाउकोमा चोट, खुट्टा नचल्ने, छातीमा पनि चोट लागेको छ ।’
बफर खोला नजिकैको खेतबारीमा पसेको बाँदरको हुल भगाउन दौडने क्रममा वृद्ध उमेरका खत्री लडेका थिए । घाइते उनको उद्धार गरी मन्थली अस्पतालको एम्बुलेन्स मार्फत मन्थली अस्पतालमा सामान्य उपचारपछि धुलिखेल लगिएको भतिज बासुको भनाई छ ।
