जुनार जोन रामेछापका किसानको धारणा : ‘काम गर्छु भन्नेले राम्रो सहयोग पाएका छौँ’

किन भुक्तानी गरेपछि निरीक्षणमा पुग्यो राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको टोली

| असार २८, २०८३ आइतबार

A A A
A A A

२८ असार, रामेछाप । ‘जुनार जोन’ रामेछापका किसानले सहयोगी निकायहरूबाट आशातीत सहयोग प्राप्त गरेको बताएका छन् । उनीहरूले जुनारको व्यवसायीक उत्पादन तथा बजारीकरण गर्न स्थानीय सरकार र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले आर्थिक र प्राविधिक सहयोग गरेको बताएका हुन् । आफूहरूलाई आवश्यक पर्ने मल, बिउ र प्राविधिक ज्ञान जस्ता अति आवश्यक सहयोग कार्यालयले सहज रूपमा प्रदान गरेकाले पेसामा थप टेवा पुगेको उनीहरूको भनाई छ । 

 

आइतबार रामेछाप र दोलखाका जिल्ला समन्वय उपप्रमुखद्वय प्रेम बहादुर थापा र दोर्जे शेर्पा, समन्वय अधिकारी, कोष तथा लेखा कार्यालय रामेछापका प्रमुख, दुई जिल्लाका आलु, बाख्रा र जुनार जोन क्षेत्रका संयोजक एवं अध्यक्षसहित दुई जिल्लाका पत्रकार समेतको उपस्थितिमा स्थलगत अनुगमन एवं निरीक्षण गर्दै जुनार जोन क्षेत्रका किसानले चालु आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरेका लागत साझेदारीको कामको मूल्याङ्कन गरिएको हो । यो पालिकाका जुनार उत्पादक कृषिले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम रामेछापसँगको सहकार्यमा निर्माण गरेका आधुनिक बाख्राको खोर, थोपा सिँचाइ र कोल्ड चेम्बरको निरीक्षण गरी आगामी दिनमा व्यावसायिक सफलताको लागि टेवा पुर्‍याउने काम गरिएको हो । 

 

रामेछाप र दोलखा कार्य क्षेत्र रहेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत रामेछापमा जुनार जोन, बाख्रा जोन, आलु जोन र किवी जोन निर्धारण गरी कार्यालयले आर्थिक, प्राविधिकसहित विभिन्न सहयोग गर्दै आएको छ । रामेछापको पहिचान बनाउन सफल जुनार जोन क्षेत्रमा पुगेको दुई जिल्लाको निरीक्षण टोलीले पनि किसानहरूले लोभलाग्दो प्रगति गरेको ठहर गरेको छ । उनीहरूलाई निरन्तर साथ र सहयोग गरी थप उत्पादनमा प्रेरित गर्नु पर्ने आवश्यक देखिएको निरीक्षण टोलिका सदस्य एवं बाख्रा जोन समितिका प्रवक्ता समेत रहेका कृषक धुब्र ढुङ्गेलले बताए । उनले भने ‘उहाँहरूले राम्रो मेहनत गर्नु भएको छ, अब निरन्तर कुनै न कुनै सहयोग गरेर व्यावसायिक बन्न तर्फ सहयोग पुर्‍याउनु पर्छ ।’

दाजु र बहिनीले केही समय अगाडि देखि सुरु गरेको बाख्रा पालनलाई व्यवसायीक र आधुनिक खोर निर्माण गरी थप व्यवस्थित गर्न कार्यालयले रु ३ लाख ५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको बताउँदै रामेछाप नगरपालिका वडा नं ९, ल्याङ्ल्याङ्की दुर्गा माया श्रेष्ठ राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले आधुनिक तरिकाले खोर निर्माण गरी बाख्रा पालन गर्न प्रोत्साहन गरेकाले आफूहरूले खोर निर्माण गरेको धारणा राखिन् । उनले भनिन् ‘पहिले पनि बाख्रा पालन त गर्थौं अहिले यो खोर निर्माण गर्न सहयोग पनि गर्नु भयो ।’

 

उनले आधुनिक खोर निर्माण गर्न प्राविधिक ज्ञानको कमी हुँदा कार्यालयले दिने भनेको सहयोग रकम कम पाएकोमा गुनासो गर्दै आगामी दिनमा सहयोग निरन्तर हुने आशा व्यक्त गरिन् । उनले बाख्रा पालनबाट राम्रो आम्दानी गरी रहेको सुनाउँदै उत्पादन गर्न सके बिक्रीको लागि कुनै समस्या नभएको जानकारी दिइन् । उनले थप प्रस्ट पार्दै भनिन् ‘बोका छ भन्नु मात्रै पर्छ घरमै किन्न आउनेको लाइन हुन्छ ।’

त्यस्तै वडा नं ७ सुकाजोरकी जुनार किसान ज्ञानु देवी बस्नेतले पनि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यालयले आधुनिक र व्यावसायिक खेती गर्न कार्यालयले सहयोग गरेको धारणा राखिन् । श्रीमान् वैदेशिक रोजगारीमा हरदा पनि राम्रो कमाइ नभएपछि अत्तालिएकी बस्नेतले आफ्नै बाँझो रहेको ४ रोपनी जग्गामा जुनारका बिरुवा रोपेर आम्दानी लिन थालेपछि दुखका दिन सकिएको सुनाउँदै भनिन् ‘हामीलाई काम मात्रै गर्छु भन्नु भएको छ, सहयोग त वडाले पनि जे चाहिए पनि योजना लिएर आए गर्न तयार छौँ भन्नु भएको छ।’

 

यो वर्ष १ लाखको वुद्धचित्त, २९ हजारको काँक्रा, १५ हजारको खोर्सानी बेचेको सुनाउँदै नगदे बालिलाई आधुनिक तरिकाले गर्न सके मनग्य आम्दानी गर्न सकिने उनको अनुभव छ । सुख्खा ग्रस्त त्यहाँ राष्ट्रिय कृषि कार्यालयले २ हजार लिटरका ट्याङ्की सँगै थोपा सिँचाइ गर्न सकिने प्रविधि लागत साझेदारीमा प्रदान गरेपछि उनी हर्षित देखिन्थिन् । 

 

जुनारको बंगैचासहित घर वरपर किवी, खोर्सानी, अम्बक, काँक्रा जस्ता फलफूल खेती लगाएर सन्तुष्ट देखिएका ओख्रेनीका हिमाल तामाङले पनि कृषि कार्यालयहरूले सहयोग गर्ने गरेकोमा खुसी व्यक्त गरे । सुख्खा ग्रस्त सो क्षेत्रमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यालयको सहयोगमा विभिन्न ठाउँमा सिँचाइ पोखरी बनेपछि किसानहरू झन्झट मुक्त बनेका हुन् । 

 

जिल्लाकै उत्कृष्ट जुनार बगैँचा निर्माण गर्न सफल बनेका वडा नं ६, ओख्रेनीका जुनार किसान शेरबहादुर तामाङले पनि आफूहरूको आवश्यकतालाई मध्यनजर गरेकै कारण कोल्ड चेम्बर निर्माण गर्न सफल भएको दाबी गरे । उनले आफ्नो वरपरका किसानहरू प्रत्येकले वार्षिक न्यूनतम २ लाख रुपैयाँ सम्मको जुनार बेच्ने प्रसंग स्मरण गर्दै जुनार किसानले मनग्य आम्दानी गर्ने सुनाए । 

 

करिब ३० वर्ष देखि जुनारको क्षेत्रमा काम गर्दै आएको अनुभव साझा गरेका कृषक तामाङले आफूले सबै खर्च कटाएर वार्षिक ८ लाख सम्म आम्दानी गर्दै आएको धारणा राखे । उनले प्रस्ट पार्दै भने ‘प्राविधिक कुरामा उहाँहरूको राम्रो सहयोग छ।’ उनले किसानलाई अन्य विषयमा भन्दा पनि मल अति नै आवश्यक पर्ने वस्तु भएकाले प्राङ्गारिक मल सहजै पाउने व्यवस्था अहिलेको जटिल आवश्यकता बनेकोमा कार्यालयको ध्यानाकर्षण गरे । 

 

चालु आर्थिक वर्षको भुक्तानी सकिसकेपछि स्थलगत निरीक्षण गर्नु अतियुक्त नभएको तर्क समेत निरीक्षण टोलीबाटै उठे पनि दुई जिल्लाका किसानहरूले ‘असल अभ्यास सिकाउने’ उद्देश्यले गरिएको कार्यलाई नकारात्मक टिप्पणी गर्न नहुने आयोजकको तर्क छ । 

 

मिलन घिमिरे (बि क)
| असार २७, २०८३ शनिबार
मिलन घिमिरे (बि क)
| असार २२, २०८३ सोमबार