रामेछापमा २५ हजार ३१३ पासपोर्ट वितरण : नयाँ ‘सिस्टमबाट’ ३४ जनाले बनाए, आवेदन सहज बन्दै

| साउन १, २०८३ शुक्रबार

A A A
A A A

०१ साउन, रामेछाप । केही दिन केन्द्रमा राहदानी विभागले नयाँ अनलाइन सिस्टममा इन्रोलमेन गरी राहदानी (पासपोर्ट) बनाउने पक्रियामा सञ्चालन गर्न थालेपछि रोकिएको कार्य सुचारु भएको छ । रामेछापमा पनि गएको बिहीबार देखि नै नयाँ अनलाइन प्रणाली मार्फत पासपोर्टको आवेदन प्रक्रिया भर्न थालिएको हो । 

 

गएको असार २२ गते एक सूचना जारी गर्दै विभागले २४ देखि २६ गते सम्म अनलाइन आवेदन रोकिने जानकारी गराएपछि रामेछापमा पनि पूर्ण रूपमा आवेदन रोकिएको थियो । अनलाइन आवेदन दिने नयाँ प्राविधिक एवं अनलाइन इन्रोलमेमनको विभिन्न कार्यहरू सहज रूपमा नचल्दा समस्या भए पनि असार २९ गतेपछि भने सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई मात्रै आवेदन भर्न सकिने गरी सिस्टम उपलब्ध भएपछि प्रशासनले परीक्षणको रूपमा आवेदन फारम इन्रोल्मेट गरेको हो । ‘केही नयाँ सिस्टमहरू भएको कारण हामीले कार्यालयबाटै अध्ययन गरी फारम भर्यौं’, जिल्ला प्रशासन कार्यालय रामेछापमा राहदानी (पासपोर्ट) फाँटकी कम्प्युटर अपरेटर अप्सरा बुढाथोकीले भनिन् । 

 

विगतको भन्दा नयाँ अनलाइन सिस्टम भएको कारण सुरु–सुरुमा केही असहज भन्दा अन्य समस्या शुक्रवार देखि हटेको बुझिएको छ । बिहीबार देखि भने रामेछापमा पनि अनलाइन आवेदन सिस्टम पूर्ण रूपमा खुल्ला गरिएको हो । ‘बिहीबार देखि इन्टरनेट चलाउन सक्ने जो कोहीले मोबाइलबाटै आवेदन दिन सकिने गरी सिस्टम खुल्ला गरिएको।’

नयाँ सिस्टम अनुसार शुक्रवार सम्म जिल्ला प्रशासन कार्यालय रामेछापबाट ३४ जनाले आवेदन दिएका छन् । उनीहरूको पासपोर्टको लागि आवश्यक प्रक्रिया पूरा भएको हो ।  

 

२०७९/०८० देखि गएको आर्थिक वर्ष २०८२/०८३ को असार ३२ गते सम्म रामेछापमा २५ हजार ९ सय राहदानी बनाउनको लागि अनलाइन आवेदन दर्ता भएको जिल्ला प्रशासन कार्यालय रामेछापको तथ्याङ्कले देखाउँछ । रामेछाप टाइम्सलाई प्राप्त तथ्याङ्क अनुसार सबै भन्दा धेरै २०७९/०८० मा ७ हजार १ सय १५ जना पुरुष र ३ हजार ५ सय ४७ जना महिलासहित १० हजार ६ सय ६२ वटा पासपोर्टको आवेदन दर्ता भएको छ । 

 

त्यसपछिका वर्षमा पासपोर्ट बन्ने संख्या क्रमशः घट्दै गएको तथ्याङ्कले पुष्टि गरेको छ । आर्थिक वर्ष २०८२/०८१ मा ४५ सय २९ पुरुष र २४ सय ४६ महिला गरी ६ हजार ९  सय ७५, २०८१/०८२ मा २८ सय २३ जना पुरुष र १८ सय ४ जना गरी ४ हजार ६ सय २७ वटा र २०८२/०८३ मा २२ सय ८ जना पुरुष र १४ सय २४ महिला गरी जम्मा ३ हजार ६ सय ३६ वटा पासपोर्टको आवेदन दर्ता भएको जिल्ला प्रशासन कार्यालय रामेछापको राहदानी शाखाले जनाएको हो । यसरी अनलाइन आवेदन दर्ता भई बनेर आएका १६ हजार २ सय २६ जना पुरुष र ९ हजार ८७ जना महिलाको गरी जम्मा २५ हजार ३ सय १३ वटा पासपोर्ट वितरण गरिएको कार्यालयले जानकारी दिएको छ । 

 

बालेन शाह नेतृत्वमा बनेको सरकारले जिल्ला हुलाक कार्यालयलाई थप जिम्मेवारी र चलायमान बनाउने उद्देश्यसहित हुलाक मार्फत घर घरमै पासपोर्ट वितरण गर्ने चर्चाका बिच केही पासपोर्ट जिल्ला प्रशासन रामेछापले पनि हुलाक कार्यालय मार्फत वितरण गर्दै आएको छ । तर, सोचे अनुसार सबैको घर–घर पासपोर्ट पुर्‍याउन भने केही चुनौती पनि देखिएको बुझिएको छ । 

 

जिल्ला प्रशासन कार्यालय रामेछाप मन्थलीबाट २०७९/०८० देखि २०८२/०८३ असार ३२ गते सम्म बनेर वितरण एवं हस्तान्तरण भएको पासपर्टको कूल संख्या

क्र.स आर्थिक वर्ष पुरुष महिला जम्मा
२०७९/०८० ६२५५ ३३४४ ९५९९
२०८०/०८१ ४६८५ २६०३ ७२८८
२०८१/०८२ २९८२ १६७३ ४६५५
२०८२/०८३ २३०४ १४६७ ३७७१
 जम्मा १६२२६ ९०८७ २५३१३
स्रोत जिल्ला प्रशासन कार्यालय राहदानी फाँट

 

मिलन घिमिरे (बि क)
| असार २७, २०८३ शनिबार