शिक्षा सुधार गर्न उमाकुण्ड गाउँपालिकाको रणनीति: यी ३ विद्यालयसहित ५ शिक्षक उत्कृष्ट, ४ लाखसहित पुरस्कृत हुने

| असार २४, २०८३ बुधबार

A A A
A A A

२४ असार, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले ‘उत्कृष्ट विद्यालय र शिक्षक’लाई नगद पुरस्कार प्रदान गर्ने भएको छ । शिक्षा सुधारको कार्य योजना अन्तर्गत डेबोर्डस्, होस्टेलको सुविधा सहित विविध पक्षसँग सूक्ष्म ढङ्गले लागेको यो पालिकाले शिक्षक र विद्यालयलाई प्रोत्साहन गर्न लागेको जनाएको छ । यो प्रतिस्पर्धामा पालिकाका ३७ वटा आधारभूत विद्यालयसहित कूल ४६ वटा विद्यालयले प्रतिस्पर्धा गरेका थिए ।

 

सम्मान एवं नगद पुरस्कार वितरण गर्न यस अगाडि गाउँपालिकाले विभिन्न सूचक पूरा गर्नु पर्ने ‘टार्गेट’ दिएको थियो । यसरी ‘टार्गेट’ पुरा गर्ने विद्यालय र शिक्षकलाई नगद २ लाख रुपैयाँ प्रदान गर्न लागेको हो । गाउँपालिकाले चालु आर्थिक वर्षको कार्यक्रम अन्तर्गतै विद्यालय र शिक्षकहरूलाई पुरस्कृत गर्न लागेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत ङावा शेर्पाले रामेछाप टाइम्सलाई बताए । उनले भने ‘हामीले पुरस्कृत गर्न विद्यालय र शिक्षकलाई विभिन्न सूचकहरू दिएर समय दिएका थियौँ, त्यो अवधिमा काम पूरा गर्नेहरू लगायतका सूचकहरू पूरा गरेपछि अनलाइनमा आवेदन मार्फत छनोट गरेका हौँ ।’

 

७ वटा वडा रहेको उमाकुण्डमा एक वडा एक मावि विद्यालय मात्रै छन् । अन्य आविहरु सञ्चालनमा रहँदा आधारभूत विद्यालयलाई समेत सक्रिय गराउने उद्देश्यले प्रतिस्पर्धा गराइएको उक्त ‘उत्कृष्ट विद्यालय र शिक्षक’ कार्यक्रममा मावि विद्यालय तीन वटा छनोटमा पर्न सफल भएका छन् । जसमा वडा नं ६ गुप्तेश्वरको कैलेश्वर मावि पहिलो हुँदै रु २ लाख रुपैयाँ नगद पुरस्कार जितेको छ । 

प्रथम पुरस्कार जित्न सफल कैलेश्वर मावि, तस्बिर मिलन घिमिरे/ रामेछाप टाइम्स 

त्यस्तै, वडा नं ४, प्रीति च्यादलुको चण्डेश्वरी माविले दोस्रो हुँदै नगद १ लाख र वडा नं ३, कुँबुँकाँस्थलीको जनता माविले तेस्रो हुँदै रु ५० हजार रुपैयाँ जितेको गाउँपालिकाले जारी गरेको छनोट सूची पत्रमा उल्लेख छ । उक्त सूचीमा वडा ७ भुजीको कास्थेम मावि, वडा ५, को सरस्वती मावि, वडा नं २, को शिद्देश्वर मावि र वडा नं १ गुम्देलको महालङ्गु मावि भने सफल हुन सकेनन् । 

 

यसरी छनोटमा परेका शिक्षक र विद्यालयलाई आउँदो शिक्षा दिवस (असोज २ गते) नगद पुरस्कार वितरण गरिने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत शेर्पाले प्रस्ट पारे । अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरी सकेको यो पालिकाले आउँदो माघ मसान्त सम्म बाल मैत्री गाउँपालिका घोषणा गर्ने तयारी तीव्र गतिमा गरिरहेको छ । सोही अन्तर्गत विद्यालय तहका गतिविधिलाई थप सक्रिय र सशक्त पार्न लागिएको लामो समय शिक्षा शाखा प्रमुखको जिम्मेवारी निर्वाह गरी रहेका प्रमुख प्रशासकीय अधिकृत शेर्पाको भनाई छ ।

वडा नं ७ स्थित कास्थेम मावि तस्बिर मिलन घिमिरे/ रामेछाप टाइम्स 

उनले प्रस्ट पार्दै भने ‘तोकिएको मापदण्डका आधारमा पेस गरेका कागजातहरूको मूल्याङ्कन गरी गाउँपालिका स्तरीय छनोट समितिले १९ गते गरेको निर्णय तथा गाउँ कार्यपालिकाको २० गतेको निर्णयअनुसार उनीहरूलाई छनोट गरेका हौँ’ । छनोटमा परेका विद्यालयहरूको शैक्षिक तथा भौतिक वातावरण समेतलाई ध्यानमा राखिएको बुझिएको छ ।

यी ५ शिक्षक परे उत्कृष्टमा 

विद्यालयको सीमित स्रोत र साधानबाट पनि गुणस्तरीय शिक्षा प्रदान गर्न खटिने शिक्षकहरूको सेवा सुविधालाई समेत वृद्धि गर्न सकारात्मक देखिएको यो पालिकाले प्रअसहित ५ जना शिक्षकहरूलाई उत्कृष्ट शिक्षक पुरस्कारद्वारा सम्मान गर्ने भएको छ । वडा नं ५ को जन जनजगृत्ति आवि खौलारू खोलामा कार्यरत प्रावि (प्रअ) कुमार थापा, वडा नं २, को सि‌द्देश्वर पब्लिक क्याम्पसका प्रमुख जगदिश बस्नेत,र सि‌द्देश्वर मावि कै शिक्षक इराक आङ्देम्बे, वडा नं ३ को जनता मावि कुँबुमा कार्यरत शिक्षक प्रविणा सुनुवार र चण्डेश्वरी मावि प्रीतिमा कार्यरत इन्दिरा आचार्य उत्कृष्ट शिक्षक छनोट भएको गाउँपालिकाले जनाएको हो । 

 

छनोटमा परेका ५ जना शिक्षकले प्रति व्यक्ति रु १०–१० हजार रुपैयाँ प्राप्त गर्ने छन् । यसरी ५ जना शिक्षक र तीन विद्यालयले कुल ४ लाख रुपैयाँ सहित शिक्षा दिवस २०८३ मा सम्मानित हुने छन् । 

मिलन घिमिरे (बि क)
| असार २२, २०८३ सोमबार