पूर्व अरनिको यातायातले रामेछापको मन्थलीदेखि चरिकोट हुँदै काठमाडौँ सम्म ‘एसी डिलक्स बस’ सञ्चालन ल्यायो

| कात्तिक २७, २०८० सोमबार

A A A
A A A

२७ कात्तिक, रामेछाप । पूर्व अरनिको यातायात सेवा प्रालिले रामेछापको मन्थलीदेखि दोलखाको चरिकोट हुँदै काठमाडौँ सम्म एसी सहितको डिलक्स बस सञ्चालनमा ल्याएको छ । सोमबार मन्थली देवकोटा चोकमा बागमती प्रदेशका सांसद आनन्द कुमार श्रेष्ठले एसी बसको उद्घाटन गरेका हुन् । 

 

पछिल्लो समय आफ्नो सेवा विस्तार गर्दै ओखलढुङ्गा लगायतका जिल्लामा समेत पुर्‍याउँदै गाउँ–गाउँबाट आम जनतालाई सेवा प्रदान गर्दै आएको पूर्व अरनिको बसले मन्थली र दोलखाको मौसमलाई ध्यानमा राख्दै यहाँको वातावरणमैत्री एसी बस सञ्चालनमा ल्याएको कम्पनीका अध्यक्ष केदार क्षेत्रीले बताए । उनले मन्थलीको मौसम अधिक गर्मी हुने ठाउँ र दोलखामा पुग्दा चिसो हुने भएको स्मरण गर्दै यहाँको वातावरणमा उपयुक्त र आवश्यकता अनुसारको एसी डिलक्स गाडी सुरु गरिएको बताए । 

 

त्यस्तै सेवा शुभारम्भ गर्दै नेकपा एमाले रामेछापका जिल्ला अध्यक्ष समेत रहेका प्रदेश सांसद श्रेष्ठले निजी क्षेत्रले यस्ता महत्त्वपूर्ण काम गरेर राज्यलाई योगदान गरी रोजगारी सिर्जना गर्ने प्रमुख पाटो भएको बताए । निजी क्षेत्रले नाफा कमाउने क्षेत्र मात्र नभएर सेवा मुखी पनि रहेको भन्दै सोही अनुसार काम गर्ने आग्रह गरे । 

 

त्यस्तै नेपाली काँग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीले रामेछापका ग्रामीण क्षेत्रका नागरिकलाई यातायात थप सहज बनाउन विभिन्न रुटमा बस सेवा सञ्चालन गर्न कम्पनीलाई आग्रह गरे ।