युवालाई पत्रकारितामा आकर्षित र प्रोत्साहित गर्न पत्रकार श्रेष्ठले स्थापना गरे १ लाख बढीको पुरस्कार
२१ भदौ, रामेछाप । नेपाल प्रेस युनियन रामेछापका नेता एवं पत्रकार युवराज श्रेष्ठले १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् । उनले पत्रकारहरूको संरक्षण, हित एवं प्रोत्साहनका लागि उक्त रकम बराबरको पुरस्कार प्रदान गर्ने अक्षय कोष खडा गर्ने घोषणा गरेका हुन् । प्रेस युनियन रामेछापको इतिहाशमा नै पहिलो पुरस्कार स्थापना भएको संगठनको भनाई छ ।
शनिवार नेपाल प्रेस युनियन रामेछाप शाखाको ५ औँ जिल्ला अधिवेशन तथा १० औँ वार्षिक साधारण सभाको अवसरमा बोल्दै पत्रकार श्रेष्ठले उक्त पुरस्कार स्थापना गर्ने घोषणा गरेका हुन् । नेपाल पत्रकार महासंघ रामेछापका कोषाध्यक्ष समेत रहेका पत्रकार श्रेष्ठले राज्यको चौथो अंग पत्रकारहरू आफ्नो ज्यान जोखिममा राखेर जनताको आवाज बोल्न खटिँदै आएको दुःख र आफूहरूको परिश्रमका बारेमा जानकार रहेको उल्लेख गर्दै आगामी दिनमा युवा पत्रकारहरूलाई पत्रकारिता पेसा प्रति आकर्षित एवं प्रोत्साहित गर्नका निम्ति आफूले दुई दशक देखि पत्रकारिता गर्दा प्राप्त गरेको विभिन्न पत्रकारिता पुरस्कार राशि बराबरको रकमबाट सम्मान एवं पुरस्कृत गर्न मिल्ने गरी आफ्नी स्वर्गीय दिदी शान्ति लक्ष्मी श्रेष्ठको नामबाट ‘शान्ति लक्ष्मी श्रेष्ठ ऊर्जाशील युवा पत्रकारिता पुरस्कार’ स्थापना गर्ने घोषणा गरेका हुन् ।
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेश समितिको दोस्रो कार्यकालका लागि अध्यक्षको समेत जिम्मेवारी निर्वाह गर्दै आएका पत्रकार श्रेष्ठले पत्रकारहरूलाई पनि राज्यले संरक्षण एवं प्रोत्साहित गर्नु पर्ने धारणासहित पुरस्कार घोषणा गरेको जिकिर गरे । जिल्ला प्रसारित रेडियो झंकारका स्टेशन म्यानेजरको जिम्मेवारीमा समेत रहेका पत्रकार श्रेष्ठले पछिल्लो पटक सरकारले मिडिया प्रति देखाएको व्यवहार सन्तोषजनक नरहेको तर्क गरे । मिडियाले रोजगारी सिर्जना गरी धेरैलाई रोजगारी दिइरहेको कुरालाई लत्त्याउँदै मिडियालाई बन्दै गर्ने नियतले सरकारले कदमहरू चाल्नु दुःखद रहेको धारणा राखे । यसरी मिडियालाई राज्य संयन्त्रले संरक्षण गर्नुको साटो खेद्ने तर्फ लालहित हुँदा पत्रकारहरू आफै सुरक्षित र संरक्षित भएर काम गर्नलाई प्रोत्साहित गर्ने निश्चल भावनाले पुरस्कार स्थापना गरेको पत्रकार श्रेष्ठले दोहोर्याए ।

आफूले स्थापना गरेको उक्त पुरस्कारलाई आगामी दिनमा थप गर्दै रु ५ लाख रुपैयाँ सम्मको कोष पुर्याउने उनले बताए । नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा आयोजित प्रत्येक वार्षिक कार्यक्रममा उक्त पुरस्कार प्रदान गर्ने योजना अनुसार कार्यविधि बनाउने पत्रकार श्रेष्ठको भनाई छ ।
