प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ, यस्तो बन्यो टिम
२१ भदौ, रामेछाप । नेपाल प्रेस युनियन रामेछाप शाखाको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् । शनिवार सम्पन्न संगठनको १० औँ वार्षिक साधारण सभा तथा ५ औँ जिल्ला अधिवेशनबाट श्रेष्ठ जिल्ला अध्यक्ष निर्वाचित भएका हुन् । त्यस अगाडि उपाध्यक्ष रहेका श्रेष्ठ जिल्लामा रहेर सक्रिय पत्रकारितामा आबद्ध छन् । अध्यक्ष निर्विरोध निर्वाचित भएपछि अध्यक्ष श्रेष्ठले भने ‘मप्रति देखाउनुभएको विश्वास, भरोसा र सद्भावलाई मैले व्यक्तिगत सम्मानका रूपमा मात्र नभई सिंगो पत्रकारिता क्षेत्रप्रतिको जिम्मेवारीका रूपमा लिएको छु’ । जिम्मेवारीमा आएपछि चुनौतीहरूलाई चिरेर जिम्मेवार ढङ्गले अगाडि बढ्ने उनको भनाई छ ।
नेपाली काँग्रेसको शुभेच्छुक पत्रकारहरू साझा संस्था प्रेस युनियन रामेछाप २०६१ सालमा बद्री नयाँघरेको अध्यक्षतामा विस्तार भएको थियो । त्यसपछि निरन्तर चलायमान हुँदै पत्रकारहरूको हक अधिकारको पक्षमा वकालत गर्दै आएको संस्था हो । उक्त संस्थाको उपाध्यक्षमा सागर बोहरा र सम्झना खड्गी निर्वाचित भएका छन् ।

त्यस्तै, सचिव पदमा भने रामेछाप टाइम्सका प्रधान सम्पादक समेत रहेका मिलन घिमिरे (बि क) निर्विरोध निर्वाचित भएका छन् । उनी त्यस अगाडि संगठनको कोषाध्यक्षको जिम्मेवारीमा थिए । सह–सचिवको जिम्मेवारीमा उमातिर्थ डट्कमका सञ्चालक टंक गौतमले अवसर पाएका छन् ।
जिल्लामा पत्रकार महासंघको समेत निरन्तर एकछत्र नेतृत्व गर्दै आएको पत्रकारहरूको संगठन युनियन रामेछापको कोषाध्यक्षमा ई रामेछाप डटकमका सञ्चालक एवं सम्पादक राजन महतरा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक यादव दाहालले घोषणा गरे ।
११ सदस्यीय जिल्ला कार्यसमितिको सदस्यमा श्रीराज चन्द्र महत, कर्ण श्रेष्ठ, सुशीला बुढाथोकी, अनिता रसाइली र ईश्वर बि क चयन भए । उनीहरू पछिल्लो समय पत्रकारिता क्षेत्रमा युवाहरूको आकर्षण घट्दै गएको अवस्थामा पनि जिल्लामा लोकतन्त्रवादी पत्रकार बनेर जनताको आवाज बोल्नु पर्छ भन्दै समितिमा सक्रिय बनेको सदस्य श्रीराज चन्द्र महतको भनाई छ ।

को को बने प्रदेश र केन्द्रीय प्रतिनिधि
पछिल्लो पटक केन्द्रीय समितिले देशभर जिल्ला अधिवेशन सम्पन्न गरेर केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेपछि अधिवेशनमा होमिएको प्रेस युनियनले रामेछापबाट बागमती प्रदेश समितिमा जिम्मेवारी पाउने दाबी गरेका दीपक कुमार घिमिरे, युवराज श्रेष्ठ, विवेक घिमिरे, रविन थापा, इन्दिरा बोहोरा र निजुका खड्कालाई प्रदेश प्रतिनिधि सिफारिस गरेको निर्वाचन समितिका अध्यक्ष दाहालले जानकारी दिए ।
हाल सम्म रामेछापबाट प्रतिनिधित्व गर्ने गरी रिता थापा मगर (घिमिरे) एक जनालाई मात्रै केन्द्रीय सदस्य बनाउन सकेको रामेछाप शाखाले यो पटक केन्द्रीय समितिमा पदाधिकारीको दाबी गर्दै ६ जनालाई केन्द्रमा सिफारिस गरेको छ । सम्पन्न जिल्ला अधिवेशनबाट शाखाका संस्थापक अध्यक्ष बद्री नयाँघरेसहित निवर्तमान अध्यक्ष ज्ञानु श्रेष्ठ, हिमाल ढुङ्गेल, रमेश ढुङ्गेल, रामचन्द्र बि क र अनिता थापा मगरलाई केन्द्रमा प्रतिनिधि सिफारिस गरिएको युनियनको निर्वाचन समितिले जनाएको हो ।
