रामेछाप जिल्ला भलिबल संघको अध्यक्षमा निराज योञ्जन
२१ भदौ, रामेछाप । रामेछाप जिल्ला भलिबल संघको अध्यक्षमा निराज योञ्जन चयन भएका छन् । आइतबार मन्थलीमा सम्पन्न संघको पाचौं जिल्ला अधिवेशनबाट योञ्जन अध्यक्षमा चयन भएका हुन् ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सीताराम कार्की सहितको उपस्थितिमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा अशोक श्रेष्ठ, महासचिवमा राजु थापामगर र कोषाध्यक्षमा वासुदेव फुयाँल चयन भएका छन् ।
जिल्लामा खेलकुदका गतिविधिलाई चलायमान गर्न विभिन्न कार्य गर्दै आएको संघको जिल्ला सदस्यमा मनिक तामाङ, शेरबहादुर मगर, कमला थापा र गोपाल श्रेष्ठले सदस्यको जिम्मेवारी पाएका छन् ।
नेपाल भलिबल संघले देशभरका जिल्ला संघहरूलाई असोज ५ गते भित्र जिल्ला अधिवेशन सम्पन्न गर्न परिपत्र गरेपछि रामेछाप जिल्ला संघले पनि अधिवेशन मिति तोकेको थियो । अधिवेशन सम्पन्न गराउन नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश अधिवेशन संयोजक गौतम प्रसाद लासिवा, नेपाल भलिबल संघका केन्द्रीय सदस्य दीपक लामा र नेपाल भलिबल संघका केन्द्रीय सदस्य निलम बज्राचार्य आएका थिए ।
संघको विधान अनुसार अब अध्यक्षले उपाध्यक्ष–१ र २–सदस्य (जिल्ला खेलकुद विकास समितिले र बाँकी सदस्यहरू जिल्ला कार्यसमितिले मनोनीत गर्न) पाउने छन् । संघले अधिवेशनको अवसरमा आइतबार संगका गतिविधिलाई सहयोग गर्ने विभिन्न संघ संस्था, स्थानीय तह, खेलकुद प्रेमी व्यक्तिलाई सम्मान प्रदान गरेको कोषाध्यक्ष वासुदेव फुयाँलले रामेछाप टाइम्सलाई जानकारी दिए ।
