भोटेकोशी बाढी पीडितलाई मन्थली माविका विद्यार्थीले गरे आर्थिक सहयोग

| भदौ १९, २०८३ शुक्रबार

A A A
A A A

१९ भदौ, रामेछाप । रसुवा बाढी पीडितका लागि मन्थली माद्यामिक विद्यालयका ७ सय विद्यार्थीहरूले आर्थिक सहयोग जम्मा गरेका छन् । विद्यार्थीहरूले ‘पकेट खर्च’ को रकम कटाएर पीडितलाई सहयोग गरेका हुन् ।

 

गएको बुधवार अचानक आएको भीषण बाढीका कारण पीडितहरूलाई सहयोग गर्ने उद्देश्य अनुसार जिल्लाकै सबै भन्दा धेरै विद्यार्थी अध्ययनरत मन्थली माविका कक्षा ६ देखि १२ कक्षा सम्म अध्ययनरत विद्यार्थीहरूबाट एकमुस्ट रकम संकलन गरी रु ११ हजार ६ सय १५ रुपैयाँ ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरेको कक्षा १० मा अध्ययनरत समीर खड्काले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनका अनुसार बिहीबार साथीहरूबाट रकम संकलन गरी विपद् कोषमा जम्मा गरिएको हो । रामेछापको मन्थली स्थित सरकारी विद्यालय मन्थली मावि नमुनाका लागि अग्रसर विद्यालय हो । विगतका वर्षदेखि उत्कृष्ट नतिजा ल्याउँदै आएका मन्थली माविले ‘२०८२ को एसइई’ नतिजामा भने तुलनात्मक रूपमा सुधार गर्नु पर्ने गरी नतिजा ल्याएको थियो ।