रामेछापमा छात्रालाई पढाउन ‘सबै सहयोग’ दिँदै आएको रेष्टको वार्षिक समिक्षाः सन्तोष जनक काम भइरहेको निष्कर्ष
२७ असार, रामेछाप । रामेछापको चार स्थानीय तहका विद्यालयमा सञ्चालित ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट) कार्यक्रमको वार्षिक समीक्षा गरिएको छ । एक आर्थिक वर्ष (२०८०–०८१) को अवधिभर जिल्लाका ६० वटा विद्यालयमा सञ्चालित यो गैर सरकारी संस्थाले सञ्चालन गरेका आफ्नो कार्यक्रम बारे सरोकारवालालाई जानकारी गराएको हो ।
बिहीबार जिल्ला समन्वय समिति रामेछापको सभा हलमा समन्वय उपप्रमुख प्रेम सागर थापा, खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष रमा घिसिङ, कार्यक्रम लागू भएका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, शिक्षा शाखाका प्रमुख, केही विद्यालयका प्रधानाध्यापक, शिक्षक, पत्रकार, सञ्चारकर्मी, रेष्ट कार्यक्रममा आबद्ध भएका विद्यार्थीका अभिभावक सहितको उपस्थितिमा एक आर्थिक वर्षमा सञ्चालन गरेका सम्पूर्ण गतिविधिको मूल्याङ्कन गर्दै आगामी योजना बारेमा जानकारी गराएको हो ।
उक्त कार्यक्रममा बोल्दै जिल्ला समन्वय उपप्रमुख प्रेम सागर थापाले रेष्टले गरेको कार्यक्रम ‘छात्रा’हरुको लागि निकै महत्पूर्ण र प्रशंसनीय रहेको बताए । जिल्लामा कार्यक्रम लागू भएका स्थानीय तहमा सन्तोषजनक काम भएको उल्लेख गर्दै उपप्रमुख थापाले आगामी दिनमा दुर्गम क्षेत्र दोरम्बा शैलुङ्, उमाकुण्ड सहितका गाउँपालिकाहरूमा विस्तार गर्न आग्रह गरे । ‘हाम्रो तर्फबाट गर्नु पर्ने सबै सहयोग गर्न तयार छौँ । उमाकुण्ड, दोरम्बा र सुनापति गाउँपालिकामा पनि सेवा विस्तार गर्नुहोला ।’
यो परियोजनाले गर्ने कार्यक्रम पारदर्शी हुनु पर्नेमा जोड् दिँदै शैक्षिक क्षेत्रमा ‘विद्यार्थीलाई सिकाउने, टिकाउने’ अभियानमा महत्पूर्ण भूमिका रहेको उनको भनाई छ ।
अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले रेष्टले गर्ने कार्यक्रमहरू अनाथ, सहारा बिन बालिका, आर्थिक अवस्था कमजोरी भएका, विपन्न बालिकाहरूलाई प्राथमिकता सञ्चालन हुनु ‘अर्थपूर्ण’ रहेकोमा जोड् दिए ।
हाल परियोजनाले विद्यालय छनोटमा केही सुधार गर्नु पर्नेमा सुझाउँदै सरोकारवालाहरूले बालबालिकाहरूलाई विभिन्न विषयमा सचेत गराउने तर्फ पनि रेष्टले भूमिका खेल्नु पर्नेमा जोड् दिए ।
कतिपयले भने कार्यक्रम लागू भएर धेरै कार्यक्रम भएको आयोजक र विद्यालयहरूले भने पनि केही गुपचुप रूपमै भएको भन्दै ध्यानाकर्षण गरेका छन् । यद्दयपी रेष्टले आर्थिक अवस्था कमजोर भएर पढ्न नपाएकाहरूलाई शैक्षिक सामाग्री सहितको छात्रवृत्ति उपलब्ध गर्नू आफैमा प्रशंसनीय काम भएको धारणा राखे ।
विशेष गरी बाबु आमा नभएका, कसैको संरक्षणमा रहेका, आर्थिक अवस्था कमजोर भएर पठनपाठन गर्न नसक्ने स्थिति भएका, अनाथ छात्राहरूलाई कक्षा १० सम्मका शैक्षिक सामाग्री र १२ कक्षा पढ्नेलाई सम्पूर्ण पढाई खर्च रेष्टले प्रदान गर्दै आएको जिल्ला संयोजक उमेश नेपालले जानकारी दिए ।
रेष्टको आर्थिक तथा प्राविधिक सहयोगमा मन्थली माविमा कक्षा १२ सम्मको पढाइ सकेर बसेका केही छात्राहरुले रेष्टले आफूहरुलाई अमूल्य सहयोग गरेको बताए । आर्थिक अभार र परिवारका जिम्मेवार सदस्य गुमाइ सकेको अवस्थामा रेष्टले गर्दा आफूहरुको पढाइ पूरा भएको सालु घर भएकी छात्राले बताइन् ।
त्यस्तै सिन्धुली घर भएर मन्थली माविमा रेष्टको आर्थिक तथा शैक्षिक सामाग्रीको सहायतामा पठनपाठन गर्दै आएकी छात्राले पनि रेष्टले आफूहरुलाई पढ्नको साथै सामाग्री खरिद गरेको बिल बनाएर बुझाएमा त्यसको पनि रकम दिने, रिचार्ज खर्च उपलब्ध गर्ने र अभिभावक भेट्न आएमा सवारी भाडा समेत दिने गरेको सुनाइन् ।