भारी वर्षाको जोखिम बढेपछि मन्थली माविमा आज र भोलि पठनपाठन बन्द
०८ असोज, रामेछाप । आज देखि आउँदो सोमबार सम्म देशभर भारी वर्षा हुने मौसमविद्को पूर्वानुमान पछि मन्थली माविले पठनपाठन बन्द गरेको छ । सम्भावित विपद्का घटनालाई मध्यनजर गर्दै जिल्ला सदरमुकाम मन्थली स्थित मन्थली माध्यमिक विद्यालयले विद्यार्थी तथा अभिभावकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
बिहीबार बिहान एक सूचना जारी गर्दै आज र भोलि मन्थली माविले विद्यार्थीलाई सुरक्षित स्थानमा राख्न, वर्षात्, बाढी, पहिरो तथा अन्य जोखिम युक्त क्षेत्रबाट टाढा रहन आग्रह गरेको हो । साथै वर्षाको समयमा विद्यार्थीलाई अनावश्यक रूपमा जोखिमपूर्ण स्थानमा जान–आउन नदिन र बालबालिकामा मनोवैज्ञानिक त्रास उत्पन्न हुने किसिमका अपुष्ट सूचना तथा हल्ला नफैलाउन अनुरोध गरेको छ।
कुनै विपद् वा जोखिमको अवस्था सिर्जना भएमा विद्यालय तथा सम्बन्धित सरोकारवालाबिच आवश्यक समन्वय गर्न पनि आग्रह गरिएको छ।
मन्थलीसहित जिल्लाका अधिकांश स्थानमा बुधवार (हिजो) दिउँसो देखि निरन्तर वर्षा भइरहेको छ । कम मात्रमा पानी पर्ने मन्थलीमा यो वर्ष निरन्तर झरी परि रहेको छ ।
झरी सुरु भएसँगै सबै सुरक्षित रहन सबै स्थानीय निकायसहित जिल्ला प्रशासन, प्रहरीले आग्रह गरेका छन् ।
