नेपाली काँग्रेस रामेछापको मतगणना : बैठक सुरू, ११ बजेपछि गणना हुने, कार्यवाहक सभापति थोकरले दिए ‘धन्यवाद’

| असोज १४, २०८३ बुधबार

A A A
A A A

१४, रामेछाप । हिजो सम्पन्न नेपाली काँग्रेस रामेछापको १५ औँ महाधिवेशन अन्तर्गतको मत गणना आज हुने भएको छ । बिहान करिब ११ बजेबाट गणना हुने सम्भावना बढेको निर्वाचन समिति रामेछापले जनाएको छ । मंगलबार भएको मतदानमा १ हजार ७ सय ८४ मतदाता मध्ये १ हजार ७ सय १३ मत खसेको छ । 

 

मंगलबार ६ बजे सम्म भएको मतदानमा प्रदेश सभा क्षेत्र (क) तर्फ ८ सय ४१ र (ख) तर्फ ८ सय ४१ मत गरी कुल १ हजार ७ सय १३ मत खसेको नेपाली काँग्रेस रामेछाप निर्वाचन समितिले जनाएको हो । साँझ सम्म मतदान भएपछि नेता कार्यकर्तासंगको समन्वयमा बुधवार बिहान देखि गणना गर्ने सहमति भएपछि सुरक्षा निकायको जिम्मामा जिल्ला समन्वय समितिको हलमा ‘ब्यालेट’ सुरक्षित राखिएको छ । 

 

अहिले केहीबेरमा (यो समाचार तयार पर्दा सम्म) सर्वपक्षीय बैठक बसेर निर्णय पश्चात् मतगणना थाल्ने जिल्ला निर्वाचन कार्यालयका अशिम चापागाईँले रामेछाप टाइम्ससंग बताए । ‘हामी अब बैठक बसेर पार्टी कार्यालयमा मत गणना गर्ने तयारीमा लागेका छौँ ।’

 

यसै बिच नेपाली काँग्रेस रामेछापका कार्यवाहक सभापति नवराज थोकरले ‘१५ औँ महाधिवेशन’ सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै कार्यबहाक सभापति थोकरले नेता कार्यकर्ताको जिम्मेवार, प्रतिबद्ध र इमानदार सहयोगले संगठन सुदृढीकरण तर्फ उन्मुख भएको भन्दै धन्यवाद ज्ञापन गरेका छन् । 

 

मतदानपछि कुचो बोकेर नेताले ‘बढारे’
 

प्राय जसो पुरानो पार्टीको आरोप खेप्दै आएको नेपाली काँग्रेस रामेछापका नेता कार्यकर्ता विशेष महाधिवेशन पछि पार्टीलाई रूपान्तर गरेको दाबी गर्दै आएका छन् । सोही अनुसार ‘बदल्यौँ, काँग्रेस बदल्छौँ देश’ नारा गुन्जाउँदै आएका कार्यकर्ताले व्यवहारमा पनि आफ्नो कौशलता देखाउन थालेका छन् । त्यसको पछिल्लो दृष्टान्त हो ‘मन्थलीमा मतदान लगत्तै’ कार्यकर्ता कुचो बोकेर सरसफाइमा लाग्नु । आफ्नो पद र ‘सबै थोकलाई बिर्सिएर’ सबै कार्यकर्ता हातमा कुचो बोक्दै दुई दिन देखि प्रचारप्रसारमा प्रयोग गरेका निर्वाचन सामाग्री, पानीका बोतल लगाएको फोहोर तत्काल बढार्न थाले । 

बजारमा दिनभर उनीहरूकै कारण भएको फोहोर एका–एक सफा पारे । विभिन्न २३३ पदका लागि उम्मेदवार बनेर केही दिन देखिको दौडधुपलाई बिर्सिएर फोहोरलाई आफैले हटाउनु पर्छ भन्ने धारणालाई प्राथमिकतामा राखेर उनीहरू सफाइमा जुटेका हुन् । विगतमा यसरी नै विभिन्न राजनीतिक दलका कार्यक्रम हुँदा भएको फोहोर हप्तौँ पछि नगरपालिका जनशक्ति नै परिचालन गरेर सपाई हुने गरेको थियो ।