नेपाली काँग्रेस रामेछाप महाधिवेशन तर्फको मत गणना सकियो, के यो निर्वाचनमा टिम बनेको थियो !
१६ असोज, रामेछाप । नेपाली काँग्रेस रामेछापको १५ औँ महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिको मत गणना सकिएको छ । अहिले केही बेरमा निर्वाचन समितिले आधिकारिक घोषणा गर्न लागेको बुझिएको छ ।
मंगलबार विभिन्न ३३ पदका लागि प्रतिस्पर्धा गरेका महाधिवेशन प्रतिनिधिका लागि १०८ जना उम्मेदवारले उम्मेदवारी दिएका थिए । विगतका निर्वाचनहरूमा जस्तै यो पटक पनि नेपाली काँग्रेस रामेछापमा विभिन्न तीन समूह स्पष्ट देखिने गरी निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । मतदानको अघिल्लो दिन सम्म सहमति गरी बिना गुट उपगुट प्रतिस्पर्धा गर्नु पर्ने माग चर्को रूपमा उठेको थियो । तर, नेताहरूले सहमति गर्न नसक्दा आन्तरिक रूपमा प्रतिस्पर्धा गरेका हुन् ।
सहमति हुन नसकेपछि लोकतान्त्रिक व्यवस्था स्वीकार गर्नु पर्ने भन्दै नेताहरूले आफ्नो समूह बनाए । देखावटीमा मिलेर निर्वाचन लडेको भनिए पनि स्पष्ट रूपमा पुराना नेताहरू र युवा पुस्ताका सचिव समेत भन्दै चर्चा पाएका दीपक खड्का सम्म पुग्दा टिम बनाएरै निर्वाचनमा देखिएका थिए । तर, निर्वाचित घोषणा हुन लागेको नतिजामा भने मिश्रित प्रकारको नेताहरूको जित देखिन्छ । यो पटक आक्रोश पूर्ण प्रतिस्पर्धाबाट माथि उठेर नेताहरूले समन्वय र सहकार्य गरी मत मागे पनि टिम नबनाउन भने सकेनन् । पूर्व पार्टी सभापति रामचन्द्र खड्का र निवर्तमान पार्टी सभापति लवश्री न्यौपानेको नाम दिएर छुट्टा छुट्टै टिम बनेको हो भने पार्टी सचिव दीपक खड्काले दुई टिम भत्काउनु पर्नेमा योजनासहित अर्को टिम बनाए ।
खुल्ला महिला तर्फ ४ जना निर्वाचित हुन ११ जना प्रतिस्पर्धामा छन् । त्यस्तै खुल्लामा १० जना निर्वाचित हुन जिल्लाका शीर्ष नेताहरूसहित ३८ जना प्रतिस्पर्धा गरेका छन् ।
श्रमिक १ जना निर्वाचित हुन ४ जना, आदिवासी जनजाति ३ जना निर्वाचित हुनेमा १४ जना, आदिवासी जनजाति महिला ३ जना निर्वाचित हुनेमा ६ जना प्रतिस्पर्धामा छन् । खस आर्य २ जना निर्वाचित हुनेमा ६ जना प्रतिस्पर्धामा रहेका छन् ।
खस आर्य महिला १ जना निर्वाचित हुनु पर्नेमा २ जना, पेशागत विज्ञ तर्फ १ जना निर्वाचित हुनु पर्नेमा ३ जना प्रतिस्पर्धामा छन् । महिला ३५ वर्ष मुनि १ जना निर्वाचित हुनु पर्नेमा ३ जना महिला पत्रकारहरू प्रतिस्पर्धामा उत्रिएका थिए ।
३५ वर्ष मुनिको युवा खुल्ला तर्फ २ जना निर्वाचित हुनु पर्नेमा ६ जना प्रतिस्पर्धा गरेका थिए । अपाङ्ग कोट तर्फ १ जना निर्वाचित हुनु पर्नेमा एक पत्रकारसहित ४ जना प्रतिस्पर्धा गरेका छन् ।
अल्पसङ्ख्यक कोटा तर्फ १ जना निर्वाचित हुनु पर्नेमा ४ जना, दलित कोटा तर्फ १ जना निर्वाचित हुनु पर्नेमा २ जना र प्रजातान्त्रिक सेनानी शहिद परिवार र द्वन्द्व पीडित तर्फ १ जना निर्वाचित हुनु पर्नेमा ५ जनाले उम्मेदवारी दिएर प्रतिस्पर्धा गरेका छन् । आयोगले आधिकारिक निर्वाचित भएको घोषणा केही बेरमा पार्टी कार्यालय बिपी स्मृति भवन मन्थलीबाट गर्ने तयारी गरी रहेको नेपाली काँग्रेस जिल्ला निर्वाचन समिति स्रोतले जानकारी दिएको छ ।
