काँग्रेस १५ महाधिवेशन : रामेछापमा ८ वटै पालिकामा ‘पालिका अधिवेशन’ सुरु, यी हुन् मन्थली नगर सभापतिका दाबेदार ?
मन्थली नगरपालिकाको सभापति पदका दाबेदारहरु
७ भदौ, रामेछाप । नेपाली काँग्रेस रामेछापले आज (बुधवार) ८ वटै स्थानीय तहमा ‘पालिका अधिवेशन’ गर्दै छ । बिहान ७ बजे देखि नै पालिका अधिवेशनका कार्य प्रारम्भ सकेको निर्वाचन समितिले जनाएको छ ।
१५ औँ महाधिवेशन अन्तर्गत वडा तहबाट छनोट भएका प्रतिनिधिहरूले पालिका र नगर सभापति सहित नयाँ कार्यसमिति चुन्दै छन् । वडा अधिवेशनबाट वडा सभापतिसहित १७ सय भन्दा बढी प्रतिनिधि छनोट भइसकेका छन् । उनीहरूले आफ्नो नगर र पालिकाको नेता आज र भोलि दुई दिन भित्र टुङ्गो लगाउँदै छन् । नेपाली काँग्रेस रामेछापले सर्व सहमतिमै पालिका स्तरको नेतृत्व टुङ्गो लगाउनु पर्नेमा जोड् दिएको बुझिएको छ ।
पालिका र नगरको नेतृत्व तहमा पुग्नको लागि नेताहरू बिच दौड्दूप सुरु भएको छ । पछिल्लो पटक संशोधित विधानले नगर तथा पालिका सभापतिहरूको क्षेत्राधिकारलाई बढाउँदा पनि आकांक्षिहरु बढ्दो देखिएको हो ।
सोही अनुसार १४ वटा वडा रहेको मन्थली नगरपालिकाको नगर सभापति बन्नको लागि ६ जना बादेदार देखिएका छन् । हाल वडा अध्यक्ष समेत रहेका होम प्रसाद पौडेल (रामहरि),वर्तमान नगर सचिव रमेश काफ्ले, नेता नारायण बोगटी, ओम बाबु पुरी, भरत पुलामी र हरेराम गिरीले नगर सभापतिको लागि दाबी गरेको बुझिएको छ । तर, केही आकाङ्क्षीहरूले सर्व सहमति गर्नु पर्ने जोड् सहित अर्का उम्मेदवारलाई समर्थन गरेको स्रोतको दाबी छ । ६ जना दाबेदार देखिए पनि बुधबार बिहान सम्मको छलफलमा आइपुग्दा २ जनामा झरेको नेताहरुको दाबी छ ।
अन्य ७ वटा पालिकामा पनि आकांक्षिहरु ३ देखि ५ जना सम्म सभापतिको लागि दाबेदार बनेर उत्रिएका छन् । भने, अधिकांश पालिकामा सर्व सहमति तर्फ केन्द्रित बनेको नेताहरूको भनाई छ ।
