मन्थली–खुर्कोट पुल चाँडै बन्ने सम्भावना बढ्यो: बेलिब्रिजको सामान आउँदै सेनाले थाल्यो ‘सर्भे’ (भिडिओसहित)

| असोज १८, २०८१ शुक्रबार

A A A
A A A

१८ असोज, रामेछाप । यही असोज ११ र १२ गतेको भीषण बाढी आउँदा सुनकोशीले बगाएको रामेछाप (मन्थली)–सिन्धुली (खुर्कोट) जोड्ने पक्की पुल चाँडै बन्ने भएको छ । जिल्लाको प्रमुख मार्ग एवं लाइफलाइन बनेको यो सडक पुल निर्माणमा जिल्लाका मन्त्रीदेखि सांसद, जनप्रतिनिधिहरू, राजनीतिक दलहरू सहित सरोकारवालाहरूले देखाएको तदारुकताले सडक पुल चाँडै बन्ने निश्चित जस्तै बनेको छ । 

 

सुनकोशीले मन्थली तर्फको भाग बगाएको ८ दिन पुगेकै दिन आज (शुक्रवार) राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) सहितको पहलमा बेलिब्रिज राख्नको लागि आवश्यक सामाग्री प्रदेश राजधानी हेटौडाबाट पठाइसकिएको छ । बेलिब्रिज राख्नको लागि आवश्यक सामाग्री शुक्रवार बिहानै लोड भएर आयात भइरहेको छ । हेटौँडाबाट ४८.८ मिटरको बेलीब्रिज लोड भएको बताइएको छ ।

 

त्यस्तै शुक्रवारै बेलिब्रिज राख्ने जिम्मा पाएको नेपाली सेनाले समेत घटनास्थलको सर्भे गरेको छ । हेलिकप्टर मार्फत नेपाली सेनाले खुर्कोटमा आएर निर्माणस्थलको अवलोकन गरेको हो । यो सडक पुल तिहार अगाडि नै बेलिब्रिज राखेर सञ्चालनमा ल्याउने राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले बताउँदै आएको छन् । जसको लागि उनी दिन रात नभनी आफै खटिएका छन् ।

 

यद्दयपी माथिल्लो क्षेत्रमा वर्षा भइरहेकाले कोशीमा पानीको बहाव भने अहिले पनि छ । यसले निर्माणमा केही अवरोध गर्न सक्ने सम्भावना देखिन्छ । बिपी राजमार्ग भएर तराइका जिल्ला र संघीय राजधानीलाई साँढे तीन घण्टाको यात्रामा जोड्ने यो पुल भत्किएसँगै खिम्ती–मन्थली–किर्ने–तामाकोशी–चरिकोट हुँदै ७ घण्टा भन्दा बढीको सडक यात्रा गर्न बाध्यता भएको छ । 

 

किर्नेमा तामाकोशीले बगाएको सडकलाई मोडेर नयाँ ट्याक मार्फत दुई दिन अगाडि देखि अन्य जिल्लासँग यात्रा जोडिएको अवस्था छ । खैरेनीघाटमा पनि पुल बगाएको छ । खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिका जोड्ने प्रमुख मार्ग कै रूपमा रहेको यो सडक पुल पनि तत्काल बनाउन आवश्यक छ ।