भोलिदेखि मन्थली करम्बोटमा तेस्रो रामेछाप कप फुटबल प्रतियोगिता, मन्त्री काफ्लेले उद्घाटन गर्ने

| कात्तिक ४, २०८१ आइतबार

A A A
A A A

४ कात्तिक, रामेछाप । भोलि सोमबार देखि मन्थली करम्बोटमा खुल्ला पुरुष फुटबल प्रतियोगिता एवं ‘तेस्रो रामेछापको कप–२०८१’  सुरु हुने भएको छ । दीपशिखा व्वाइज युनाइटेड क्लबको आयोजनामा मन्थली नगरपालिकाको मुख्य प्रयोजनमा खेल सञ्चालन गर्न लागेको आयोजकले जनाएको हो । प्रतियोगिताको बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले एक भव्य समारोहका बिच उद्घाटन गर्ने तयारी पूरा भएको आयोजकले जनाएको हो । 

 

आइतबार (आज) मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरी क्लबले सोमबार देखि आयोजकसहित ९ टिमको सहभागितामा प्रतियोगिता हुन लागेको जनाएको हो । मन्थली नगरपालिका वडा नं २ कठजोरको करम्बोट स्थित कल्वकै खेल मैदानमा आउँदो कात्तिक ८ गते सम्म चल्ने प्रतियोगिताको विजेताले नगद ३ लाखसहित ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने आयोजक दीपशिखा व्वाइज युनाइटेड्का अध्यक्ष आषिस कार्कीले बताए । 

 

प्रतियोगिताको उपविजेताले नगद २ लाखसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । भने, फाइनल प्रवेश नगर्ने टिमले ५०–५० हजार प्राप्त गर्ने छन् । यस अगाडि कात्तिक ५ गते देखि १० गतेसम्मको लागि तय भएको खुल्ला पुरुष फुटबल प्रतियोगिता देशभर पछिल्लो पटक घटेको बाढी पहिरो जस्ता विपद्जन्य घटनाको कारण दुई दिन छोट्याएर कात्तिक ८ गते सम्म मात्रै खेलाउने गरी प्रतियोगिता गर्न लागेको अध्यक्ष कार्कीले बताए । 

 

अखिल नेपाल फुटबल संघको राष्ट्रिय तथा क्षेत्रीय रेफ्रिहरुबाट खेलाइने सो प्रतियोगिता लिग कम नक-आउटको आधारमा खेलाउने तयारी छ ।  साथै, म्यान अफ दि म्याच (प्रत्येक खेलमा), बेस्ट किपर, बेस्ट डिफेन्डर, बेस्ट खेलाडी, सर्वाधिक गोल कर्तालाई ट्रफि र नगद ५ हजारले पुरस्कृत गरिने सचिव किशोर थापाले बताए ।

विगतका वर्षहरूमा विभिन्न जिल्लाका टिमबाट सहभागिता भए पनि यो पटक छिमेकी जिल्ला सिन्धुली, दोलखा र ओखलढुङ्गामा पनि फुटबल प्रतियोगिता भइरहेका र रामेछापकै भूजीमा पनि फुटबल खेल जारी रहेकाले सहभागी टिमको संख्या कम भएको उल्लेख गर्दै अध्यक्ष कार्कीले भने ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागिता छ । तर, टिम जिल्ला भित्रका मात्रै सहभागी छन् ।’

 

कूल २७ लाख २५ हजार खर्च लाग्ने अनुमान गरेको आयोजकले मन्थली नगरपालिकाबाट ५ लाख, प्रदेश युवा परिषद्बाट १ लाख, मन्थली २ नम्बर वडाबाट १ लाख खर्च प्राप्त गरेको बताएको छ । त्यस्तै जिल्लाका केही स्थानीय तहहरूले समेत आर्थिक सहयोग गर्ने बचन दिएको उनले बताए । 

 

त्यस्तै नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि भरत चौलागाई र गेल्जे शेर्पाले १–१ लाख सहयोग गरेको क्लबका पूर्व सचिव उत्तम कार्कीले बताए । खेल खेल्दा भई परि आउने घटनाको जोखिमलाई ध्यान दिएर सबै खेलाडीहरूको रु १–१ लाख बराबरको (एन्एल्जी) इन्स्योरेन्स कम्पनीबाट इन्स्योरेन्स गरिएको बताउँदै जिल्ला खेलकुद विकास समितिले खेलको संयोजन गर्ने बताइएको छ ।

 

विगतका वर्ष देखि निरन्तर प्रतियोगिता सञ्चालन गर्दै आएको, जिल्ला तथा जिल्ला बाहिरका क्लब, विद्यालयका खेलाडीहरूलाई फुटबल खेल प्रति बढी भन्दा बढी अभिरुचि जगाइ प्रवर्द्धन गर्न तथा जिल्लामा यो खेल प्रति उत्साहित, प्रोत्साहित गर्न खेल आयोजना गरिएको दिपशिखा युनाइटेड्ले जनाएको हो । 

 

साथै, फुटबल खेलबाट पर्यटन प्रवर्द्धन गर्न र पहाडी जिल्लामा पनि यो खेल खेलाउन सकिन्छ भन्ने भाष्य निर्माण गर्ने खेल सञ्चालन गर्न लागेको आयोजकको भनाई छ । प्रतियोगिता सञ्चालनको लागि सबै तयारी पूरा भएको आयोजकले जनाएको हो ।