रामेछापको खिम्तीमा आयोजित महायज्ञ : ८५ लाख बराबर आर्थिक सहयोग संकलन,५ हजार बढी भक्तजनले दर्शन गरे

| कात्तिक १०, २०८१ शनिबार

A A A
A A A

१० कात्तिक, रामेछाप । रामेछापको खिम्तीमा शुक्रवार सम्पन्न धार्मिक एवं पुण्यको कार्य महायज्ञमा आधा करोड भन्दा निकै बढी दान संकलन भएको छ । साथै, अन्नादेखि विभिन्न सहयोग समेत उल्लेख्य संकलन भएको छ । ५ हजार बढी दर्शक एवं भक्तजनले महायज्ञको दर्शन गरेको दाबी आयोजकले गरेको छ ।

 

खिम्ती जनजागृति मावि विद्यालय परिवारले नमुना विद्यालय सञ्चालनको लागि भन्दै आयोजना गरेको धार्मिक कार्य महायज्ञमा देश तथा विदेशमा रहेका नेपालीहरूले सम्म आर्थिक सहयोग एवं दान गर्दा महायज्ञ आयोजकले अपेक्षा गरेको भन्दा उल्लेख्य सहयोग प्राप्त भएको बुझिएको छ । 

 

सोही वडाका वडा अध्यक्ष एवं लिखु तामाकोशी गाउँपालिका ६ का शिव प्रसाद न्यौपानेको अध्यक्षतामा भएको महायज्ञमा दैनिक लाखौँको संख्यमा दान संकलन भएको अध्यक्ष न्यौपानेले बताएका हुन् । 

नमुना विद्यालय निर्माणका निम्ति जग्गा खरिद तथा छात्रावास स्थापनाको लागि श्रीमद् भागत महायज्ञमा ७३ लाख ७ हजार ९ सय ५८ रुपैयाँ दान सङ्कलन आयोजकले जनाएको छ । महायज्ञको अन्तिम दिन शुक्रवार मात्रै ८ लाख ९१ हजार ५ सय ६९ रुपैयाँ दान एवं सहयोग सङ्कलन भएको विद्यालयका सूचना अधिकारी प्रकाशबहादुर रानाले बताए । 

 

रामेछाप टाइम्ससंग कुराकानी गर्दै शिव प्रसाद न्यौपानेले भने ‘अब उमाकुण्ड, गोकुलगंगा, खाँडादेवी, रामेछाप नगर, टोखा नगर जस्ता स्थानीय तहहरूले सहयोग दिन बाँकी छ । उहाँहरूबाट बचन पाएको छौँ । यसरी उठ्न बाँकीसहित गर्दा हाम्रो संकलन ८५ लाख हुने छ’, आफूले ७० को हाराहारीमा कलेक्सन हुने अपेक्षा गरेको जिकिर गर्दै उनले थपे ‘१५ लाख जित सोचेको भन्दा राम्रो कलेक्सन भयो ।’

सबै हेर्दा २५ लाख जति खर्च हुने बताउँदै काम सकेपछि पत्रकार सम्मेलन गरेर खर्चको विवरण सार्वजनिक गर्ने अध्यक्ष न्यौपानेले बताए ।  भक्तजनहरूले ५ सय देखि ५ लाख सम्म दान गरेर महायज्ञको उद्देश्य र महायज्ञलाई भव्य रूपमा सफल भएको उनको भनाई छ । भक्तजन एवं अतिथिहरूलाई पञ्चेबाजासहितको भव्य स्वागत र भजनकृतनमा झुमाइएको सो महायज्ञको शुक्रवार ऊर्जा जलस्रोत तथा सिचाइ राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) को प्रमुख आतिथ्यमा समापन समारोह गर्दै महायज्ञ समापन गरिएको हो । 

अन्तिम दिन शुक्रवार पूर्णाहुति सहित महायज्ञ समापन गरिएको थियो । प्रचारप्रसार र खिम्तीका स्थानीय सरकार, जनता सबै एक भएर लागि पर्दा धार्मिक कार्य महायज्ञ भव्य रूपमा सफल भएको महायज्ञ आयोजक समितिको अध्यक्ष समेत रहेका वडा अध्यक्ष न्यौपानेको भनाई छ । 

 

ऊर्जा राज्य मन्त्री तामाङ लिएर महायज्ञमा पुगेका लिखु तामाकोशी गाउँपालिका अध्यक्ष केशव महतले पालिकाले सबै एकै ठाउँमा र एक जुट भएर गरिने धार्मिक कार्यलाई सक्दो सहयोग गर्ने बताए । २ लाख पालिकाको तर्फबाट सहयोग गरेको उल्लेख गर्दै महायज्ञ जस्तो धार्मिक कार्यमा राजनीति भन्दा माथि उठेर गर्न आग्रह गरे । 

 

त्यस्तै ऊर्जा राज्य मन्त्री तामाङले १ लाख ११ हजार व्यक्तिगत सहयोग एवं दान प्रदान गर्दै राज्यमा सरकारी निकायहरूमा समेत यो विद्यालय सञ्चालनको लागि आवश्यक सहयोग गराउन आफू लागि पर्ने प्रतिबद्धता जनाए । साथै, यसरी हजारौँ भक्तजनले गरेको सहयोग उचित कार्यान्वयन नभएमा आफूले कसैलाई नछोड्ने चेतावनी समेत दिए । उद्देश्य अनुसारको काम संकलित रकमबाट हुनु पर्नेमा सुझाव दिँदै आवश्यक परेको सहयोग गर्न सधैँ तयार रहेको तर रकमको गलत प्रयोग गर्न भने नदिने जिकिर गरे ।