नेपाली काँग्रेसको केन्द्रीय स्वास्थ्य विभागमा रामेछापका डा.कर्माचार्य मनोनीत, यस्तो छ राजनीतिक ‘हिस्ट्री’
११ पुस, रामेछाप । नेपाली काँग्रेसको केन्द्रीय स्वास्थ्य विभागमा रामेछापका डाक्टर सुमन कर्माचार्य सदस्यमा मनोनीत भएका छन् । डा.कर्माचार्यलाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सदस्यमा मनोनीत गरेका हुन् ।
दशकौँ देखि रामेछापका जनताहरूको उपचारमा रमिरहेका डाक्टर कर्माचार्यलाई पार्टीको विधान, २०१७ संशोधन सहित) को धारा २५ (९) बमोजिम केन्द्रीय सदस्य डा. चन्द्र मोहन यादव प्रमुख रहेको स्वास्थ्य विभागको सदस्यमा मनोनीत गरेको पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
आज भन्दा ४२ वर्ष पहिले (१८ वर्ष) कै उमेरमा नेता कृष्ण प्रसाद भट्टराईबाट पार्टी सदस्यता लिएका डाक्टर कर्माचार्य २०३४ साल देखि नै (नेविसंघ) मा सक्रिय बनेका थिए । तत्कालीन समयको राजनीतिक घटना क्रमलाई स्मरण गर्दै डा.कर्माचार्यले रामेछाप टाइम्ससंग भने ‘त्यो बेलादेखि म नेपाली काँग्रेसको इमानदार र निस्वार्थ भत्कत हुँ ।’
२०३७ सालमा त्रिचन्द्र कलेजको (नेविसंघ) इकाईको सदस्य भएको सुनाउँदै ०४१ सालमा मारजगंञ्ज क्याम्पसमा (नेविसंघ) को तर्फबाट (स्ववियु) को सचिव बनेको बताए ।
२०४६ को राजनीतिक आन्दोलनमा सक्रिय र नजिकबाट नियालेको अनुभव सुनाउँदै डाक्टर कर्माचार्यले आन्दोलनको क्रममा साहित्य र सङ्गीत क्षेत्रको जिम्मेवारी निर्वाह गरेको बताए । ‘त्यति बेला पार्टीको साहित्य र सङ्गीत सम्बन्धी जिम्मेवारी नै प्रमुख जस्तै गरी निर्वाह गरियो ।’
०४६ को राजनीतिक परिवर्तनमा भूमिगत रूपमा नेपाली काँग्रेसको तर्फबाट तत्कालीन समयका माथिल्लो तहका नेताहरूसँगै सहभागी थिए ।
२०५१ सालको मद्याविक निर्वाचनमा तत्कालीन (नेविसंघ) को केन्द्रीय सदस्य, अहिलेका महामन्त्री विश्व प्रकाश शर्मा, कमल न्यौपाने, कुमार कार्की र म भएर निर्वाचन सम्बन्धी एल्बम निकालिएको हौँ भन्दै डा.कर्माचार्यले थपे ‘त्यसपछि भने म, बिस्तारै स्वास्थ्य मै बढी व्यस्त हुन थाले ।’
२०५० सालमा (नेविसंघ)को तर्फबाट सभापति मारजगञ्ज क्याम्पसमा (स्ववियु) सभापति भएको सम्झिँदै डाक्टर कर्माचार्यले भने ‘०६८ सालको १२ औँ महाधिवेशनमा मैले क्षेत्र नं १ सबैको भन्दा बढी मत ल्याएर महासमिति सदस्य निर्वाचित भए ।’
नेपाली काँग्रेसको विभिन्न तहमा बसेर जिल्लाको पार्टीको विवाद समेत समाधान गरेको स्मरण गर्दै अनुभवी नेता एवं डा.कर्माचार्यले भने ‘स्वास्थ्य विभागमै पनि म, २०७० सालमा महामन्त्री प्रकाश मान सिंहको पालामा सदस्य बनेको थिए ।’
दोस्रो पटक ५ वर्षे कार्यकाल रहेको सदस्य पदमा मनोनीत भएका डाक्टर कर्माचार्य जिल्लाका परिचित र ख्याति प्राप्त वरिष्ठ नेता हुन् ।
हाल पार्टीको पूर्व महासमिति सदस्य एवं क्षेत्रीय प्रतिनिधिको रूपमा सक्रिय रहेका डाक्टर कर्माचार्य जिल्ला सदरमुकाम मन्थलीमा तामाकोशी सेवा समिति मार्फत सञ्चालित तामाकोशी अस्पतालका प्रमुख हुन् ।
पार्टी सभापति देउवाले रामेछापका कर्माचार्यसहित सदस्यमा डा.मुक्तिराम श्रेष्ठ (अर्घाखाँची), डा.अनिलकुमार झा (सप्तरी), डा. सुशीलनाथ प्याकुरेल (ललितपुर), श्यामचन्द्र यादव (धनुषा), ईश्वर कार्की (झापा), विष्णुप्रसाद भट्टराई (स्याङ्जा), पुजा फुयाल (सोलुखुम्बु) र वुधिसरा सुनुवार (सुर्खेत) सदस्यमा मनोनित गरेका हुन् ।