काँग्रेस र एमाले मिलेर बनेको सरकार अलोकतान्त्रिक–प्रमुख सचेतक परियार

| पुस १३, २०८१ शनिबार

A A A
A A A

१३ पुस, रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का  प्रमुख सचेतक सन्तोष परियारले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनेको सरकार अलोकतान्त्रिक भएको दाबी गरेका छन् । दुई ठुला दलले संसद्मा भएको संख्याको बलमा मनपरी गरेको उनको आरोप छ । ‘संसद्मा संख्या छ भन्दैमा जे मन लाग्यो त्यो गर्न पाइदैन् ।’

 

मन्थलीमा रहेको रामेछाप विमानस्थल बाह्रै महिना यहाँको स्थानीय सरकार र नेताहरूले चलाउन नसकेको पार्टीका कार्यकर्ताहरूबाट सुनेपछि आश्वासन दिँदै उनले भने ‘जिल्लाकै लागि महत्त्वपूर्ण रहेको यो विमानस्थल चलाउन माथिल्लो स्तरमा सक्दो कुरा राख्छु ।’ 

शनिवार रामेछापको मन्थली नगरपालिका भेलालाई सम्बोधन गर्दै सचेतक परियारले काँग्रेस र एमालेले सत्ता प्राप्तिको लागि असंवैधानिक र अलोकतान्त्रिक गठबन्धन गरेको आरोप लगाएका हुन् । दुई तिहाइको सरकारले चाहेमा जे पनि गर्न सक्ने भए पनि अहिले केही गर्न नसकेको जिकिर गरे । भत्किएको बिपी राजमार्ग यो सरकारले बनाउन सक्छ भन्दै प्रश्न गरे । 

 

पार्टी सभापति रवि लामिछाने माथि प्रतिशोध साँधिएको ठोकुवा गर्दै प्रमुख सचेतक परियारले भने ‘रवि लामिछाने भएको कारण मात्रै सरकार छ कि भन्ने सुनिन्छ । नत्र, अरू केही गर्न सकेन ।’

दुई तिहाईको सरकारले लामो समय हुँदा पनि केही गर्नै नसकेको उनको जिकिर छ । देश र जनताको हितमा काम गर्दै ०८४ को निर्वाचन गराउ गर्न आग्रह गर्दै भने ‘हामी तपाईँसँगै चुनाव लड्न तयार छौँ ।’

 

पुराना दलहरूबाट विकास र समृद्धि सम्भव नहुने दोहोराएका प्रमुख सचेतक परियारले नयाँ युवाहरू मिलेर काम गरे ८/१० वर्षमा विकासले फड्को मार्ने उनको भनाई थियो । 

 

सभापति रवि लामिछानेको विषयमा अदालतमा मुद्दा रहेकाले विधिको शासनलाई मान्ने धारणा राखे । ‘प्रतिशोध कसैलाई साँध्न पाइदैन् । मान्छेलाई छानी–छानी षड्यन्त्र गर्न पाइदैन् ।’