नागरिकता अब नेपाली कागजमा दिने तयारी गर्दैछौं – उद्योग मन्त्री तामाङ (भिडिओसहित)
२८ पुस, रामेछाप । बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुक माया तामाङले ‘नेपाली कागज’मा नागरिकता प्रदान गर्ने गरी मन्त्रालयले काम गरिरहेको बताएकी छिन् । नेपाली कागजमा नागरिकता दिन सके नेपाली कागजको बिक्री बढ्ने, बाहिरी कागजको आयात घट्ने र नेपाली कागज उद्योग फस्टाउने उनको तर्क छ ।
आइतबार मन्थलीमा उद्योग तथा वाणिज्य क्षेत्रका सरोकारवालाहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री तामाङले भनिन् ‘मैले सम्बन्धित मन्त्रालय र प्रधानमन्त्रीज्यूसंगको भेटमा लोकता लगायतका कच्चा पदार्थबाट बनेको नेपाली कागजमा नेपाली नागरिकता दिनु पर्छ भन्ने माग राखेको छु’ नेपाली कागजबाट नागरिकता दिने कार्यविधि ल्याउन आफूले पहल गरिहरेको जानकारी गराउँदै मन्त्री तामाङले थपिन् ‘नेपाली लोकतोबाट जापानी पैसा बनेको छ । त्यो बलियो पनि छ ।’
प्रदेश सरकारले चाहेर सो कार्य सम्भव नहुने गुनासो गर्दै मन्त्री तामाङले प्रधानमन्त्री र गृह मन्त्रालयको ध्यानाकर्षण गराएको बताइन् । ‘त्यसको प्रक्रिया अगाडि बढाएको छौँ ।’
नेपाली कागजमा नागरिकता दिन सके नागरिकता बलियोसहित आफ्नै पहिचान हुने भन्दै मन्त्री तामाङले गुणस्तरीय हुने दाबी गरिन् । बागमती प्रदेशमा आफ्नो मन्त्रालयको बजेट प्रदेशकै ‘कान्छो बजेट’ रहेको टिप्पणी गर्दै मन्त्री तामाङले आगामी वर्षबाट बजेट बढ्ने विश्वास व्यक्त गरिन् ।
प्रदेशका १३ वटै जिल्लामा पुग्ने अभियान रामेछापबाट सुरु गरेको जानकारी गराउँदै तेरै जिल्ला पुगेर उद्योगी व्यवसायीहरूको गुनासा, समस्या र सुझावहरू सङ्कलन गरी सुधार गर्दै जाने प्रतिबद्धता जनाइन् ।
सो अन्तरक्रिया कार्यक्रममा बोल्ने उद्योगी व्यवसायीहरूले तीनै तहको सरकारले कुनै सहयोग नगरेको भन्दै आफूहरू व्यवसायबाटै पलाएन हुने परिस्थितिमा पुगेको गुनासो गरे । कृषि, भेटेरिनरी, घरेलु, ब्यूटिपार्लर, ह्याचरी, डेरी लगायतका क्षेत्रमा आबद्ध उद्योगी व्यवसायीहरूले स्थानीय सरकारले कुनै सहयोग नगरेको र प्रदेश सम्म पुग्न आफूहरू नसकेको भन्दै असन्तुष्ट जनाए । साथै, तीनै तहको सरकारको साथ र सहयोग आवश्यक रहेको धारणा राखे ।