सातौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि मन्थली माविले जित्यो, तामाकोशी बोर्डिङ दोस्रो, रुद्रक्षेश्वर भलिबलमा ‘बलियो’
१८ माघ, रामेछाप । ‘सातौँ मन्थली नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८१ को उपाधि मन्थली माविले जितेको छ । जिल्ला सदरमुकाम मन्थलीमा संचालित सबै भन्दा धेरै विद्यार्थी अध्ययनरत मन्थली माविले लगातार तेस्रो पटक जितेर गत वर्ष नगर स्तरीय रनिङ शिल्डको शिल्ड समेत ‘पञ्च’ गरेको थियो ।
गएको बुधवारदेखि मन्थली माविकै खेल मैदानमा नगरपालिका प्रमुख लव श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत, प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटा, नगर खेलकुद विकास समितिका अध्यक्ष गोपाल माझी, सबै वडा अध्यक्षहरू लगाएको उपस्थितिमा सुरु भएको सातौँ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्डमा निजी क्षेत्रको तामाकोशी अङ्ग्रेजी विद्यालयलाई पछि पार्दै मन्थली माविले ३१ स्वर्ण,२५ रजत, १८ कांश्यसहित ७१ वटा पदक जितेर प्रथम भएको समितिका अध्यक्ष गोपाल माझीले बताए ।
दोस्रो भएको तामाकोशी बोर्डिङ स्कुलले १७ स्वर्ण १२ रजत, १८ कांस्य गरी ४७ वटा पदक तथा एथलेट र मर्शल आर्ट (उसु) छात्रातर्फ उत्कृष्ट खेलाडी आफ्नो पक्षमा पार्न सफल भएको छ । विजेता खेलाडीहरूलाई नगर प्रमुख श्रेष्ठ, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत सापकोटा र समितिका अध्यक्ष माझीले प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलसहितको उपस्थितिमा शिल्ड, मेडल, ट्रफि, प्रमाणपत्रसहित प्रथम पुरस्कार नगद ४० हजार प्रदान गरे ।
त्यस्तै, दोस्रो हुन सफल तामाकोशी बोर्डिङले मेडल, ट्रफि, प्रमाणपत्रसहित नगद २५ हजार रुपैयाँ प्राप्त गरेको छ । ६ वटा स्वर्ण, ८ रजत, ६ कांश्यसहित २० पदक जितेको कर्कला देवी बोर्डिङ स्कुल (केब्स) आकाशेले तेस्रो पुरस्कार ट्रफि, मेडल र प्रमाणपत्रसहित नगद १५ हजार प्राप्त गरेको हो ।
४ स्वर्ण, ३ रजत र ७ कांस्यसहित १४ पदक जित्दै सान्त्वना भएको गढवारी स्थित निलकण्ठेश्वर माविले ट्रफि, मेडल र प्रमाणपत्रसहित ५ हजार नगद प्राप्त गरेको प्रशिक्षक समेत रहेका देवेन्द्र श्रेष्ठले रामेछाप टाइम्सलाई बताए ।
१४ वटा वडाका २० वटा माविबाट ६५० जना छात्र, छात्राले भलिबल, कबड्डी, उसु, तेक्वान्दो, कराँते र ऐथ्लेटिक्समा प्रतिस्पर्धा गरेको तीन दिने राष्ट्रपति रनिङ शिल्डमा ६६ स्वर्ण, ६६ रजत
र कांस्य पदकको लागि प्रतिस्पर्धा गरेका थिए ।
भलिबल तर्फ दुवैमा प्रथम रुद्रक्षेश्वर
तीन दिन सम्म भएको प्रतिस्पर्धामा भलिबल तर्फ छात्र, छात्रा कै उपाधि मुगिटार स्थित रुद्रक्षेश्वर माविले जितेको छ । छात्रा तर्फ सरस्वती मावि चनखु वडा नं १० लाई र मन्थली माविलाई पछि पार्दै रुद्रक्षेश्वर मावि प्रथम भएको हो ।
प्रतिस्पर्धामा भाग लिएका अन्य विद्यालयहरूले पनि केही पदक जितेको बुझिएको छ । त्यस बारेमा कुन विद्यालयले कति पदक जिते भनेर जाँचबुझ भइरहेको आयोजकले भनेको छ ।
यो पटक नगरपालिकाले रनिङ शिल्ड प्रतियोगिता संचालन गर्न २३ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।