रामेछापमा प्रथम जिल्ला अधिवेशनबाट दोहोरियो रास्वपाको पुरानै समिति

| जेठ २३, २०८३ शनिबार

A A A
A A A

२३ जेठ, रामेछाप । रास्वपा रामेछापको वर्तमान कार्यसमितिलाई नै निरन्तरता दिएर अगाडि जाने निर्णय गरिएको छ । सदस्य बाहेक अन्य पदमा भने फेरबदल नगरिएको हो । 

 

शनिवार दिउँसो उद्घाटन गरिएको प्रथम राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशनमा रमेश रायमाझीको नेतृत्वलाई नै यो पटक निरन्तर दिने सहमति भएको जानकारी प्राप्त भएको हो । यो सँगै परिवारसहित लामो समय देखि जिल्ला बाहिर बसोबास गर्दै आएका सुनापति गाउँपालिका निवासी रायमाझी दोस्रो कार्यकालको लागि रास्वपाको सभापति बनेका हुन् । उनकै नेतृत्वमा रास्वपा रामेछापले प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार डा.कृष्णहरि बुढाथोकीले जित हासिल गरेका थिए । 

 

प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व बनाउनु पर्ने केही नेताहरूको जोड बल अन्ततः नेताहरूको सक्रियता पछि सहमति मै टुङ्गिएको हो । शनिवार दिउँसो भएको खुल्ला सत्रमा कार्यकर्ताहरूले नेतृत्वमा निर्वाचन भए पार्टीलाई ठुलो क्षति हुने भन्दै सचेत गराएपछि वर्तमान रायमाझीलाई सभापतिमा दोहोर्‍याउँदै उपसभापतिमा मोहन कार्कीले नै निरन्तरता पाएका छन् । 

 

त्यस्तै सचिवमा पनि हालकै सचिव दिल बहादुर थापा (दिनेश) नै दोहोरिँदा सह–सचिवमा भने टेकबहादुर सुनुवारले अवसर पाएका छन् । जिल्ला सभापतिकै लागि लविङ् गर्दै चुनावी प्रतिस्पर्धामै उत्रिने तयारीमा रहेकी नेतृ एवं कोषाध्यक्ष समीक्षा श्रेष्ठले पनि कोषाध्यक्ष पदमै दोहोरिएकी हुन् । 

 

अन्य सदस्यहरूको नामावली भने टुङ्गो लाग्ने क्रममा रहेको स्रोतको भनाई छ । पुरानै टिमले प्राथमिकता पाउँदा अन्य राजनीतिक दल त्याग्दै रास्वपा भित्रिएकाहरुलाई भने झड्का लागेको छ ।