नवनिर्वाचित संघीय तथा प्रदेश सभा सदस्यहरुले बुझे निर्वाचित भएको प्रमाणपत्र

१२ मंसिर, रामेछाप । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा (संघीय) र प्रदेश सभा सदस्यहरुले प्रमाणपत्र ग्रहण गरेका छन् । आज सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन आयोगको कार्यालयले एक कार्यक्रमको आयोजना गरी निर्वाचित प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ ‘कान्छाराम’, प्रदेश सभा सदस्य ‘क’ र ‘ख’ का क्रमशः तारानारायण श्रेष्ठ र युवराज चौलागाईलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको हो ।
मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्याधिश इन्दिरा शर्मा, पूर्व गृह राज्य मन्त्री श्यामकुमार श्रेष्ठ, जिल्ला समन्वय समितिकी प्रमुख चिना खड्का (कार्की), मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठ, रामेछाप नगर प्रमुख लबश्री न्यौपाने, लिखु तामाकोसी गाउँपालिका अध्यक्ष केशव महत, सुनापति गाउँपालिकाकी उपाध्यक्ष गीता विष्ट (चौलागाई), सुरक्षा निकायका प्रमुखहरू, पार्टी प्रमुख तथा प्रतिनिधि, पत्रकार, सञ्चार कर्मी, कर्मचारीहरूको उपस्थितिमा प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।
सो क्रममा बोल्दै प्रतिनिधिसभा सदस्य एवं नेपाली काँग्रेसका जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले रामेछाप जिल्लाको विकासको लागि आफूहरूलाई जनताले चुनेकाले ५ वर्षमा उज्यालो रामेछाप बनाउने गरी काम गर्ने प्रतिबद्ध जनाए । उनले आफूहरूको पार्टी फरक रहेको उल्लेख गर्दै केन्द्रमा जे– जे भए पनि जिल्लाको विकासको लागि दायाँ –बायाँ नगर्न दुई प्रदेश सभा सदस्यहरूलाई जोडदार आग्रह गरे ।
त्यस्तै प्रदेश सभा ‘क’ का सदस्य श्रेष्ठले संविधानले दिएको अधिकारलाई पूर्ण पालना गरेर यहाँका जनताको आवश्यकता, चाहाना र सुझावको आधारमा काम गर्ने बाचा गरे । उनले यहाँको समृद्धिको लागि जनताले दिएको अभिमतको कदर गर्ने बचन दोहोर्याए ।
त्यस्तै प्रदेश सभा ‘ख’ का सदस्य चौलागाईले जिल्लाको चौतर्फी विकास गर्नु पर्ने आवश्यकता रहेको उल्लेख गर्दै पर्यटन, कृषि, रोजगारी, पूर्वाधार विकासलाई केन्द्रमा राखेर काम गर्ने दोहोर्याए । उनले जिल्लाबाट बसाई सरेर जाने नभई बाहिरबाट यहाँ आउने वातावरण सिर्जना गर्नु पर्नेमा जोड् दिए ।
शैलुङ्, बाम्ती, गुम्देल जस्ता हिमाली र पर्यटनको आकर्षण केन्द्र बनाउने छौँ भने ।
उनीहरूले नेकपा एमालेका उम्मेद्वारहरु प्रतिनिधिसभा तर्फ कैलाश ढुङ्गेल र प्रदेश सभा तर्फ क्रमशः शान्ति प्रसाद पौडेल र मिलन घिसिङलाई भारी मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।