नेपाली काँग्रेस प्रदेश सभा ‘क’ खुल्ला पदका उम्मेद्वार कार्कीले हाले पुनः मतगणना गर्नु पर्ने मागसहित निवेदन, निर्वाचन समितिले यस्तो भन्यो ?
१७ असोज, रामेछाप । केहीबेर अगाडि गणना सम्पन्न गरिएको नेपाली काँग्रेस प्रदेश सभा (क) तर्फको मत गणनामा ‘धाँदली’ भएको भन्दै पुनः मत गणना हुनु पर्ने मागसहित निवेदन दर्ता गराएका छन् । खुल्ला तर्फका उम्मेद्वार कृष्ण कुमार कार्कीले सुरुमा आफ्नो मत भन्दा कम मत प्राप्त गरेका प्रतिस्पर्धीलाई निर्वाचित गरी आफूलाई पराजित गरिएको भन्दै असन्तुष्टि जनाएर निवेदन हालेको रामेछाप टाइम्सलाई बताए । उनको निवेदन नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपाले दर्ता गरेको छ ।
गएको सोमबार भएको १५ औँ महाधिवेशन अन्तर्गत प्रदेश सभा (क) तर्फ खुल्ला ८ जना निर्वाचितको लागि १६ जना प्रतिस्पर्धामा रहेका छन् । सुरुमा आफ्नो पक्षमा रहेको मत परिणाममा निर्वाचन अधिकृतले हस्ताक्षर गरी सकेको मत परिणाममा पछि जोड्ने क्रममा अर्कै नतिजा देखाइएको दाबी सहित कार्कीले पुनः मतगणना हुनु पर्ने माग गरी निवेदन दर्ता गरेका हुन् । कार्कीले रामेछाप टाइम्ससंग भने ‘पुन मत गणना मेरो माग हो ।’
उनले पहिले गणना गर्दा आफ्नो ३ सय १४ मत रहेकोमा पछिल्लो पटक मत सार्वजनिक हुँदा २९६ मात्रै भएको बताए ।

नेपाली काँग्रेस रामेछापको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले भने ‘प्रस्ट शब्दमा उक्त विषयलाई इन्कार गरेको छ । रामेछाप टाइम्ससंग कुरा गर्दै निर्वाचन कार्यालयका ‘एक कर्मचारीले’ बाहिर आए जस्तो विषय हुँदै नभएको बताए । जिल्ला निर्वाचन कार्यालयले एक पत्र जारी गर्दै उक्त मत परिणाममा त्रुटि भएको र मत ट्याली गरी हेर्दा ‘भुलवश एकै मुठाको मत दोहोरो ईन्ट्रि भएका’ ले नतिजा तलमाथि भएको देखिएको थियो ।
कार्यालयले जारी गरेको पत्रमा ‘जम्मा मत संख्या भन्दा बढी मत देखिएकाले सो नतिजामा भएको त्रुटिलाई सच्चाई’ अर्को नतिजा सार्वजनिक गरिएको थियो ।
अर्का एक खुल्ला पदकै उम्मेद्वारले पनि आफ्नो पहिले गणना भएको भन्दा केही मत घटेर आएको बताउँदै निर्वाचन कार्यालयले दोहोरो इन्ट्रि भयो भनेकाले उक्त विषय त्यहाँ भन्दा फरक नरहेको दाबी गरे ।
