नेपाली काँग्रेस रामेछापको १५ औँ महाधिवेशन अन्तर्गतको मतगणना सम्पन्न: प्रदेश सभा ‘क’ तर्फ सुन्दर खड्काको नेतृत्वमा यस्तो बन्यो टिम !
१८ असोज, रामेछाप । नेपाली काँग्रेस रामेछापले १५ औँ महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधि र प्रदेश सभा क्षेत्रीय समितिको निर्वाचन सम्पन्न गरेको छ । गए राति अबेर सम्म गरेर दुई प्रदेश सभा क्षेत्रीय समितिको मत गणना सकिएसँगै काँग्रेस रामेछापले गएको असोज ३ गते देखि सुरु गरेको १५ औँ महाधिवेशन अन्तर्गतको निर्वाचन सम्पन्न भएको हो ।
जिल्लाको ६४ वटै वडाबाट वडा अधिवेशन गर्दै सुरु भएको अधिवेशन १३ गते १७ सय ८४ जनाले मतदान गरी महाधिवेशन तर्फ ३३ जनासहित दुई प्रदेश कार्यसमिति र प्रदेश प्रतिनिधि निर्वाचित भएसँगै अधिवेशन सकिएको हो । शान्तिपूर्ण र उल्लास पूर्ण वातावरणमा सम्पन्न काँग्रेसको निर्वाचनले प्रदेश सभा (क) तर्फ भोज राज खड्का (सुन्दर) सभापतिमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी मुरारी घिमिरे र राजकुमार केहीलाई पछि पार्दै नेतृत्वमा जित हाँसिले गरेका हुन् । खड्काले ३७७ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
त्यस्तै, उपसभापतिमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए । भने, सचिवमा गोकुलगंगा गाउँपालिका–१, गर्जाङका अनुज खड्का ४३६ मत सहित विजयी भएका छन् । सहसचिवमा रन्जिता कार्की र दल विक्रम कार्की विजयी भएका छन् ।
८ जना निर्वाचित हुने प्रदेश प्रतिनिधि खुल्ला पदमा १६ जना युवाहरू प्रतिस्पर्धा गरेकोमा कुमार खड्का (३४७), दीपक खड्का (५३५), दुर्लभ कुमार अधिकारी ( ३००), पुष्कर पौडेल (४०७), भरत खड्का (३८०), मोतीलाल तामाङ (एन्जल) (३३३), सिताराम कार्की (४९०) र युवराज सुवेदी (४४०) मत सहित निर्वाचित भएका छन् । प्रतिस्पर्धामा उत्रिएका कृष्ण कुमार कार्कीले मत गणनामा असन्तुष्टि जनाउँदै पुनः मत गणना हुनु पर्ने मागसहित निवेदन दर्ता गरेका छन् । तर, नेपाली काँग्रेस जिल्ला निर्वाचन समितिले भने ८ जनालाई निर्वाचित भएको घोषणासहित प्रमाण पत्र प्रदान गरेको छ ।
अन्य पदमा भने पेशागत तर्फ अधिवक्ता यादव प्रसाद दाहाल ३५९ मतसहित निर्वाचित हुँदा युवा खुल्ला तर्फ ३ जना प्रतिस्पर्धालाई पछि पार्दै २४८ मत ल्याएका नीराजन कार्की निर्वाचित भएका छन् । प्रजातान्त्रिक सेनानी, शहिद परिवार, द्वन्द्व पीडित परिवारको तर्फबाट नेता झपड राज भण्डारी ४६० मतले विजयी भएका छन् । समानुपातिक तर्फ दामोदर खड्का ३८५ मत ल्याएर निर्वाचित भए । समानुपातिक आदिवासी जनजाति खुल्ला तर्फको मत गणना भने प्राविधिक कारण नगरिएको बुझिएको छ।
