महाधिवेशन निर्वाचित भएपछि गेल्जे लामा शेर्पाको टिप्पणी ‘टिमै लागे पनि हराउन सकेनन्’
१७ असोज, रामेछाप । आदिवासी जनजाति महासंघका निवर्तमान अध्यक्ष गेल्जे लामा शेर्पा नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । केही टिम बनाएरै आफूलाई हराउनको लागि कोही कोही लागेको दाबी गर्दै लामाले कार्यकर्ताले रुचाएको कारण आफू निर्वाचित भएको जिकिर गरेका छन् ।
गत सोमबार भएको मतदानमा आदिवासी जनजाति खुल्ला तर्फ उम्मेदवार बनेका लामाले आफूलाई ‘टिम बनेकाहरुले’ हराउन नसकेको टिप्पणी गरेका हुन् । उक्त पदका लागि जनजाति महासंघका केन्द्रीय निवर्तमान अध्यक्ष लामा र नेपाली काँग्रेस रामेछापका कार्यवाहक पार्टी सभापति नवराज थोकरसहित १४ जना प्रतिस्पर्धा गरेका थिए । ३ पदका लागि भएको प्रतिस्पर्धामा लामा ४९९, थोकर ५९४ र प्रदेश सभा क्षेत्रीय सभापति (ख) का राजेश कुमार श्रेष्ठ ३७७ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
निर्वाचित भएपछि रामेछाप टाइम्ससंग संक्षिप्त कुराकानी गर्दै उमाकुण्ड गाउँपालिका–२ बाट क्षेत्री प्रतिनिधि छनोट भएर आएका नेता लामा शेर्पाले आफूले कार्यकर्ताहरूको दुःख सुखमा साथ दिएकै कारणले जित्न सफल भएको जिकिर गरे । आगामी दिनमा थप पार्टीको काममा लाग्ने प्रतिबद्धता जनाएका लामाले जिल्लामा पार्टी एक बनाउनको लागि भूमिका खेल्ने धारणा राखे ।
जिल्ला नेताहरूले सहमति गरेर जानु पर्नेमा अघोषित टिम बनाएर अगाडि बढेकोमा असन्तुष्टि जनाए । उनले युवालाई समेट्दै आगामी नेतृत्व टुङ्ग्याउनु पर्नेमा उनको जोड् छ ।
