रामेछाप–काठमाडौँ सृजनशील समाजको कार्यक्रमः खादा-माला बन्द, स्टेज खाली, आसन ग्रहण उपस्थिति अनुसार

| माघ ८, २०७९ आइतबार

A A A
A A A

८ माघ, रामेछाप । रामेछाप–काठमाडौँ सृजनशील समाजले सदरमुकाम मन्थलीमा गरेको ‘रामेछाप विकास बहस’मा खादा माला र अतिथि आसन ग्रहण प्रथालाई हटाइएको छ ।


शनिवार मन्थली नगरपालिकाको सभा हलमा भएको एक दिने रामेछाप र मन्थलीको विकास बहस विषय वृहत् छलफलमा अन्य कार्यक्रमको जस्तो खादा, माला लगाएर अतिथि सत्कारलाई गरिँदै आएको फजुल खर्च कम गरेको आयोजकले जनाएको छ ।


कार्यक्रममा बहालवाला प्रदेश सांसददेखि, पूर्व सांसद, जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, वडा अध्यक्ष, प्रधानाध्यापक, शिक्षक, समाजसेवी, विभिन्न पेसा व्यवसायमा लागेका उद्यमी, विज्ञहरूको उपस्थिति थियो । तर, उनीहरू सबैलाई कार्यक्रमको अगाडि स्टेजमा नराखेर एकै रोहबरमा बसेका थिए ।

साथै अतिथि आसन ग्रहण पनि उपस्थिति वा सहभागी भए अनुसार गराइएको थियो ।


कार्यक्रम सञ्चालन पनि प्रायः जसो संयोजक कृष्णहरि बुढाथोकीले बसेकै ठाउँबाट उद्घोष गरेका थिए । कार्यक्रममा दुई दर्जन भन्दा बढीले रामेछाप जिल्लाको र मन्थलीको विकास, समृद्धिको लागि खेल्नु पर्ने भूमिकाको बारेमा बोलेका थिए ।

 

 


बोल्ने वक्ताहरूलाई पनि बोल्ने समय तोकेरै ५ मिनेट दिइएको थियो । विषय वस्तुमा आधारित रहने गरी बुँदागत रूपमा निर्धारित समय भन्दा बढीमा २­÷४ मिनेट थप गरेर बोल्न दिएको थियो ।