अत्याधिक गर्मीको कारण रामेछापका अधिकांश स्थानमा मकै बारीमै सुक्न थाल्यो, असारे ‘चपेटोको’ छैन हर्ष

| जेठ २८, २०८० आइतबार

A A A
A A A

२८ जेठ, रामेछाप । असार लाग्न लाग्दा समेत पानी नपरेपछि रामेछापका विभिन्न स्थानीय तहमा लगाएको बाली बारी मै सुक्न थालेको छ । मकै, तरकारी लगायतका बाली सुक्न थालेपछि किसानहरू चिन्तित बनेका छन् । 

 

यो पटक हिउदामा खाने तरकारी समेत अधिकांश स्थानमा सुक्न थालेको छ । विशेष गरी मन्थली नगरपालिका, रामेछाप नगरपालिका र लिखु तामाकोशी, खाँडादेवी र सुनापति गाउँपालिकाका बारीमा लगाएको मकै बारीमै सुकेका छन् । 

 

देशैभरि बढेको अत्याधिक गर्मी र चर्को घामले गर्दा मकै बारीमै सुकेको हो । मकैसँगै अन्य बाली पनि यो बेला सुकेको अवस्था छ । अझै पानी पर्न सकेको छैन । अझ पानी परेर धानको बिउ धमाधम राख्ने यो बेला पानी नपरेपछि सबै किसानहरू चिन्तित बन्न पुगेका हुन् । विगतका वर्षहरुमा यो बलेमा किसानलाई भ्याइ-नभ्याई हुन्थ्यो । तर, अहिले घर बाहिर समेत निस्किन नसक्ने गर्मी बढेपछि किसानहरु फूर्सदिला र चिन्तित बनेका हुन् ।

आकाशे पानी नपर्नु र सिँचाइको सुविधा नहुँदा किसानसँग यसको विकल्प छैन । कतिपय ठाउँमा त, अहिले पिउने पानीको समेत हा-हाकार हुन थालेको छ । एक हप्ता भन्दा लामो समयदेखि चर्किएको घामले भाँचेर धानको बिउ राख्ने, बारी खाली गर्ने, कोदो रोप्ने यो बेला मकै नै सुत्ला नच्यापी सुकेपछि अब के गर्न भन्ने किसानलाई पिरोलो परेको हो । 

 

केही दिन यता सामाजिक सञ्जालमा आ–आफ्नो गाउँतिर बारी मै मकै आगो लाग्ने गरी सक्न थालेको भन्दै गुनासो सुनाउनेहरूको बाहुल्यता देखिन्छ । 

 

हामीले मन्थली देखि खाँडादेवी गाउँपालिका ६ माकादुम सम्म पुग्दै गर्दा अधिकांश स्थानमा बारीमै मकै सुकेको देखियो । भने, सुख्खा ग्रस्त रामेछाप नगरपालिकामा पनि उस्तै पिरलो रहेको किसानको गुनासो छ। 

 

पानी नपर्दा असारे चपेटो पर सरेको त छदै छ आउँदो वर्ष भोकमरीको समेत असर खेप्नु पर्ने पिरलो समेत थपिएको छ । 

 

उमाकुण्ड गाउँपालिका र दोरम्बा शैलुङ गाउँपालिका केही चिसो भूगोल भएका कारण केही कम असर पारेको भनिएको छ । तर, विगतका वर्षमा भन्दा यो वर्ष यी ठाउँमा समेत अत्याधिक गर्मी महसुस गरिएको स्थानीयहरूले बताएका छन् । अझै केही दिन घाम चर्किने बताइएको छ । भने, यस वर्षको मौसम भित्रिन पनि समय लाग्ने मौसम पूर्वा अनुमान  महाशाखाले जनाएको छ ।