दोस्रो पशुपतिनाथको रूपमा परिचित स्थापनापति महादेव मन्दिरमा २१ फिट अग्लो तामाको त्रिशूल राखियो

| असोज २, २०८० मंगलबार

A A A
A A A

२ असोज, रामेछाप । मन्थली नगरपालिका वडा ९ पुरानागाउँको बाहुनचुरा स्थिति स्थापनापति महादेव मन्दिरमा २१ फिट अग्लो तामाको त्रिशूल राखिएको छ ।

 

सोमबार हिन्दु धर्मावलम्बी महिलाहरूको मुख्य पर्व हरितालिका तीजको अवसर पारेर मन्दिर प्राङ्गणमा तामाको त्रिशूल राखिएको हो । पत्रकार सन्तोष ढुङ्गेलको अगुवाइमा विभिन्न व्यक्ति तथा संस्थाहरूसँग आर्थिक सङ्कलनबाट ४५ केजी तौल बराबरको २१ फिट अग्लो तामाको त्रिशूल राखिएको पत्रकार ढुङ्गेलले जानकारी दिए । ‘मैले सबैको आर्थिक सहयोगमा राखेको हुँ । करिब २ लाख बढी लागत लागि सक्यो केही अझै बाँकी छ ।’

 

उनका अनुसार त्रिशूल निर्माणको लागि १ लाख ६० हजार रुपैयाँ र अन्य व्यवस्थापनमा ५० हजार भन्दा बढी खर्च हुँदा अहिले सम्म करिब २ लाख १० हजार बढी खर्च भएको छ । ‘अहिले सम्म १ लाख रुपैयाँ सहयोग सङ्कलन भएको छ । बाँकी खर्च उठेको छैन । अझै अपुग नै छ ।’

 

नेपालकै एक ऐतिहासिक धार्मिक स्थलको रूपमा रहेको स्थानापति महादेव मन्दिरमा त्रिशूल स्थापना गर्ने उद्देश्यले गत वर्षको शिवरात्रीको दिनदेखि अभियान सुरु गरिएको र हरितालिका तिज २०८० मा त्रिशूल स्थापना गर्न सफल भएको अगुवा सन्तोष ढुङ्गेलले बताए । 

 

मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले पूजा अर्चना गरी शुभारम्भ गरेको यो त्रिशूल राखेर मन्दिरमा भक्तजनको आगमनलाई थप बढवा दिने विश्वास गरिएको छ । बहिरा महादेवको नामले पुजिने ऐतिहासिक स्थानापति महादेव मन्दिरमा त्रिशूल स्थापनाका साथै अखण्ड ध्वनि र अखण्ड ज्योतिको पनि शुभारम्भ गरिएको छ ।

 

काठमाडौँको पशुपतिनाथ र हलेसी महादेवपछि नेपालको तेस्रो तथा पूर्वको दोस्रो पशुपतिनाथको रूपमा पुजिने रामेछाप जिल्लाकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्य हो । 

 

स्थानापति महादेव मन्दिरमा प्रत्येक वर्ष हरितालिका तीज, ठुलो एकादशी र महाशिवरात्रि जस्ता पर्वहरूमा भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । यो वर्षको तीजमा पनि विभिन्न जिल्लाका हजारौँ भक्तजनहरूले दर्शन गरेका छन् । 

 

मन्दिरको फेदीबाट मन्दिरसम्म जानका लागि आकर्षक सिँढी निर्माण ।  पूजा आराधना गरी ठुलो स्वरले वरदान माग्दा मागेको कुरा पाइने जनविश्वास

 

सोही वडाका वडा अध्यक्ष गोकर्ण राज आरणका अनुसार रामेछापलगायत सिन्धुली, सर्लाही, महोत्तरी, ओखलढुङ्गा, काभ्रे, दोलखा, काठमाडौँलगायतका जिल्लाबाट दर्शनार्थीहरु मन्दिर दर्शनको लागि पुग्ने गरेका छन् । 

 

‘सडक सञ्जालका कारण विशेष पर्वहरूमा मात्रै नभई अहिले दैनिक रूपमा यो मन्दिरमा दर्शन गर्ने र घुम्न आउनेको सङ्ख्या उल्लेख्य रूपमा बढेको वडाध्यक्ष आरणले बताए । 

 

मन्थली नगरपालिकाले मन्दिरको फेदीबाट मन्दिरसम्म जानका लागि आकर्षक सिँढी निर्माण गरेको छ । सदरमुकाम मन्थलीबाट वडा नं ८ चिसापानी र मन्थली नगरपालिका–१० चनखु हुँदै जाने सडक मार्ग प्रयोग गरेर पनि स्थानापति महादेव मन्दिर पुग्न सकिन्छ ।

 

स्थानीयका अनुसार तीन सय वर्षभन्दा पुरानो स्थानापति महादेव मन्दिरमा गई पूजा आराधना गरी ठुलो स्वरले वरदान माग्दा मागेको कुरा पाइने जनविश्वास रहेको छ ।

 

रामेछाप जिल्लाकै ऐतिहासिक धार्मिक स्थल स्थानापति महादेव मन्दिर परिसरमा पर्यटन पूर्वाधार विकासका काम भइरहेको मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले बताए । 

 

‘स्थानापति महादेव मन्थली नगरपालिका र जिल्लाको मात्रै नभएर देशकै ऐतिहासिक धार्मिक पर्यटकीय स्थल हो । यस मन्दिरमा नगरले गुरुयोजना निर्माण गरी काम गरिरहेको छ । गुरु योजनाअनुसार काम गर्न चालू आर्थिक वर्षमा नगरले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको नगरप्रमुख श्रेष्ठले बताए ।