मन्थली बचतले कमायो एक वर्षमा ५८ लाख बढी खुद नाफा, यो वर्ष ५ हजार नयाँ सदस्य थप्ने लक्ष्य

| असोज २७, २०८० शनिबार

A A A
A A A

२७ असोज, रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा सञ्चालित मन्थली बचत तथा ऋण सहकारी संस्थाले एक आर्थिक वर्षमा ५८ लाख बढी खुद नाफा कमाएको छ । शनिवार मन्थलीमा आयोजित सहकारीको २६ औँ वार्षिक साधारण सभामा कोषाध्यक्ष टीका प्रसाद भट्टले सार्वजनिक गरेको आर्थिक प्रतिवेदनमा कूल ५८ लाख ८ हजार ८ सय २५ रुपैयाँ खुद नाफा गरेको बताए । 

 

कोषाध्यक्ष भट्टले सार्वजनिक गरेको वित्तीय प्रतिवेदन अनुसार जिल्लामा सञ्चालित यस सहकारीमा १५ हजार ८ सय २५ जना सदस्य रहेका छन् । २०५४/५५ मा कूल १ लाख ५० हजार ३५७ रुपैयाँमा कूल सम्पत्ति रहेको मन्थली बचतको हाल एक अरब १४ करोड ८८ लाख १७ हजार ३४४ रुपैयाँ कूल सम्पत्ति रहेको प्रतिवेदनमा उल्लेख छ । भने, ९ करोड ५० लाख १९ हजार ९ सय रुपैयाँ शेयर पुँजी रहेको छ । 

 

त्यस्तै स्थापना कलमा १ लाख ३४ हजार ७ सय बचत सङ्कलन रहेको यो सहकारीसँग हाल आएर ९१ करोड ७३ लाख ३९ हजार १४७ रुपैयाँ बचत सङ्कलनमा रहेको प्रतिवेदनमा उल्लेख छ । भने, ७१ करोड ३५ लाख ६३ हजार ४३५ रुपैयाँ खुद ऋण लगानी गरेको उल्लेख छ । 

संस्थाका अध्यक्ष गोविन्द प्रसाद घिमिरेको अध्यक्षता, जिल्ला समन्वय समितिकी प्रमुख चिना खड्का (कार्की) को प्रमुख आतिथ्यता, मन्थली र रामेछाप नगरपालिका प्रमुखहरू क्रमशः लव श्रेष्ठ र लवश्री न्यौपानेको विशिष्ठ आतिथ्यतामा भएको साधारण सभामा सहकारीका सचिव हिमाल ढुङ्गेलले संस्थाले हाल सञ्चालन गर्दै आएको गतिविधि बारेमा स्पष्ट जानकारी गराएका थिए । 

 

उनले मन्थली बचतको उन्नति र प्रगतिमा तामाकोशी सेवा समितिले निरन्तर सहयोग गर्दै आएको बताउँदै ‘मन्थली साकोसको चहानाः सदस्यको आर्थिक समृद्धिको कामना’ भन्ने नारा अङ्गीकार गरेर काम गरी रहेको बताए ।

आफ्ना सदस्यलाई तामाकोशी अस्पतालमा उपचारमा २० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशत छुट, सदस्यको मृत्यु भएमा २० हजार उपलब्ध गराउँदै आएको सचिवको संस्थागत प्रतिवेदनमा उल्लेख छ । 

 

सहकारीले हाल जनघनत्व बढी भएका रामेछाप बजार, गेलुको सावा डाँडा, मन्थली बसपार्क र मन्थलीको सालुमा सदस्य सेवा केन्द्रको स्थापना गरी सेवा दिँदै आएको जानकारी दिँदै सचिव ढुङ्गेलले सहकारीका विभिन्न माथिल्लो तहमा आबद्ध हुने र विधि अनुसार चल्दै आएको बताए । 

 

विगतमा गरेका कार्यको मूल्याङ्कन गर्दै आगामी चालु आर्थिक वर्षको लागि सचिव ढुङ्गेलले ३० बुँदै लक्ष्य तथा कार्यक्रम समेत सार्वजनिक गरेका छन् । 

तस्बिर स्रोत सहकारीको वार्षिक प्रतिवेदन /रामेछाप टाइम्स

 

वार्षिक साधारण सभामा बोल्दै जिल्ला समन्वय समिति प्रमुख खड्काले मन्थली बचत नीति र विधि अनुसार चलेको भन्दै सबै सहकारीहरूले राम्रो कामलाई फलो गर्नु पर्नेमा जोड् दिइन् । नीति र विधि भन्दा बाहिर रहेर दुःख गरेर जम्मा गरेको बचतलाई हिनामिना पर्ने जुनसुकै सहकाृरीहरुलाई पनि कारबाही गरी सही बाटोमा हिँडाउनू पर्नेमा सचेत गराइन् । 

 

त्यस्तै मन्थली नगरपालिका प्रमुख श्रेष्ठले पनि सहकारीहरू धेरै हुँदा नियमनमा केही कठिनाइहरू देखिएको सुनाउँदै विधि अनुसार चल्न आग्रह गरे । उनले केही सहकारीहरूले गलत गरेको गुनासो आफूहरूसँग आइरहेको सुनाउँदै ऋण कस्ता व्यक्तिलाई दिने, कसरी दिने, दिएको ऋणको कसरी सुरक्षित गर्ने जस्ता विविध कुरालाई ध्यानमा राखेर अगाडी बढ्ने भन्ने तर्फ सचेत हुन जोड् दिए । 

 

त्यस्तै रामेछाप नगरपालिका प्रमुख न्यौपानेले भने एकै व्यक्ति धरै सहकारीमा सदस्य बनी रहेको उल्लेख गर्दै त्यस्तो नगर्न आग्रह गरे । उनले एक सहकारी एक सदस्य हुनु पर्नेमा जोड् दिँदै बचत कर्ता पनि सचेत हुनु पर्ने बेला आएको बताए ।