११ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उमाकुण्डको प्रितीमा हुने, कुन स्थानीय तहमा कहिले ?

| कात्तिक २१, २०८० मंगलबार

A A A
A A A

२१ कात्तिक, रामेछाप । ‘एघारौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता’ आगामी पुस २१ गतेदेखि उमाकुण्ड गाउँपालिकामा गरिने भएको छ । गत वर्ष लिखु तामाकोशी गाउँपालिकाको सैपुमा सम्पन्न भएको थियो । जसको उपाधि मन्थली नगरपालिकाले जितेको थियो । 

 

गत आइतबार रामेछाप जिल्ला खेलकुद विकास समितिका जिल्ला अध्यक्ष सरोज जंग गाहा मगरको अध्यक्षतामा सदरमुकाम मन्थलीमा बसेको सरोकारवालाको बैठकले यो वर्षको जिल्ला स्तरीय रनिङ शिल्ड उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रितीमा आगामी पुस २१ गतेदेखि २३ गते सम्म आयोजना गर्ने सहमति भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गाहा मगरले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘जिल्ला स्तरीय राष्ट्रपति संचाल निर्देशन समितिले अनुमोदन गरेपछि उमाकुण्डमा हुने निश्चित भएको छ । योसँगै खेल उमाकुण्डमा गर्नको लागि ९० प्रतिशत काम भइसकेको छ ।’

 

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड गर्नु अगाडि ८ वटै स्थानीय तहले आफ्नो पालिका स्तरीय रनिङ शिल्ड सम्पन्न गर्नु पर्ने हुन्छ। जसको लागि आठ वटै स्थानीय तहले आगामी मंसिर १५ गतेदेखि पुस १५ गते भित्र गरी सक्ने तयारी अगाडि बढेको उनको भनाई छ । सोही अनुसार मंसिर १५ देखि १७ गते  लिखु तामाकोशी गाउँपालिकाले, मंसिर १९ देखि २१ खाँडादेवी, मंसिर २३ देखि २५ सुनापति गाउँपालिका र मंसिर २७ देखि २९ गते दोरम्बा शैलुङ गाउँपालिकाले पालिका स्तरीय रनिङ शिल्ड गर्न मिति तय गरेका छन् । 

 

त्यस्तै मंसिर ३० देखि पुस २ सम्म सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले गर्ने भनिएको छ । 

 

पुस ४ गतेदेखि ६ गतेसम्म उमाकुण्ड गाउँपालिका, पुस ७ देखि ९ गते गोकुलगंगा गाउँपालिकाले गर्ने भएका छन् । भने, पुस १२ गतेदेखि १४ गते सम्म रामेछाप नगरपालिकाले रनिङ शिल्ड सक्ने आठ वटै स्थानीय तहको खेलकुद विकास समितिको संयोजक, शिक्षा, युवा तथा खेलकुद शाखाको प्रमुख वा प्रतिनिधि, जिल्ला भित्रको सबै खेलकुद संघका अध्यक्षहरू तथा राष्ट्रिय प्रशिक्षकहरू सम्मेलित  जिल्ला समन्वय समितिमा  बसेको आइतबारको बैठकले निर्णय गरेको हो । 

 

रनिङ शिल्डको पुरस्कार राशि भने सह आयोजकले गर्ने आर्थिक सहयोगबाट मात्रै थाहा हुने भएकाले अहिले नै निर्णय गरिएको छैन । 

 

विभिन्न विधाका करिब ६ सय भन्दा बढी खेलाडी सहित २ हजार  को उपस्थिति हुने आङ्कलन गरिएको ११ औँ जिल्ला स्तरीय रनिङ शिल्पमा झण्डै २० लाख हुने आकंलन गरिएको छ । लिखु तामाकोशीमा सम्पन्न १० औँ रनिङ शिल्पमा १२ लाख बढी खर्च भएको थियो । ‘यो पटक मार्सल आर्ट, भलिबल, कबड्डी लगायतमा कोटा थपिएकाले खेलाडीको सङ्ख्या बढ्छ ।’

 

‘दूरीको हिसाबले प्रिती टाढा रहेको र मूल्य वृद्धि पनि भएको छ । यसरी हेर्दा २० लाख भन्दा बढी खर्च हुने देखिन्छ’, अध्यक्ष गाहा मगरले भने । 

 

उमाकुण्ड गाउँपालिकाले सह आयोजना गर्ने ११ औँ रनिङ शिल्डलाई सभ्य र भव्य ढङ्गबाट सञ्चालन गर्न समेत उमाकुण्ड खेलकुद विकास समितिले पनि आग्रह गरेको छ ।