मन्थली नगरपालिका : असोज मसान्त भित्र नगरमा सूचिकृत नहुने सहकारी स्वतः खारेजीको प्रक्रियामा जाँदै !

| साउन १६, २०८१ बुधबार

A A A
A A A

१६ साउन, रामेछाप । चालु आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममै निष्क्रिय सहकारीहरूलाई खारेजी गर्ने नीति तथा कार्यक्रम अगाडि सारेको जिल्ला सदरमुकाम मन्थली नगरपालिकाले नगर भित्रका सहकारीहरूलाई अध्यावाधिक एवं सूचिकृतमा आउन आह्वान गरेको छ । यो पालिकाले चालु आ.व.मा निष्क्रिय सहकारीहरू तत्काल खारेज गर्ने नीति लिएको छ । 

 

१४ वटा वडा रहेको यो नगरमा आधा भन्दा धेरै सहकारी संस्थाहरू सहकारीको मर्म विपरीत सञ्चालनमा रहेको, कतिपय सञ्चालनमै नरहेको, उद्देश्य अनुरूप सञ्चालन हुन नसकेको भन्दै प्रश्न उठिरहेका बेला नगरपालिकाले अद्यावधिक गर्दै सक्रिय र निष्क्रिय सहकारीहरूको विवरण यकिन गरेर सहकारीहरूको वास्तविक अवस्था यकिन गर्न थालेको बुझिएको छ । 

 

गएको सोमबार एक सूचना प्रकाशित गर्दै नगरका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद चापागाईँले ‘सहकारी गतिविधि गरिरहेका सबै (संघ, प्रदेश र स्थानीय तह) नियामक भएका सहकारी संघ संस्थाहरूलाई अनिवार्य अध्यावाधिक/सूचीकृत हुन आउने’ भनेका हुन् । 

 

बागमती प्रदेशकै उत्कृष्ट सहकारी बन्न सफल सहकारी संस्थाहरू संचालित यस नगरका कतिपय सहकारीहरू विधि र उद्देश्य अनुसार संचालन हुन नसकेको भन्दै प्रश्न खडा भइरहेको छ । 

 

‘कानुन बमोजिम तोकिएको समय सीमाभित्र सहकारी संस्थाहरूको लेखा परीक्षण गराई, साधारण सभा सम्पन्न गरी, लेखा परीक्षण प्रतिवेदन, वार्षिक प्रगति प्रतिवेदन, कर चुक्ता प्रमाण पत्र र नगरपालिकाको आर्थिक ऐन बमोजिमको सहकारी अद्यावधिक दस्तुर सहित सबै सहकारी संस्थाले असोज मसान्तभित्र सूचीकृतको लागि आउनु’, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चापागाईँले जारी गरेको पत्रमा भनिएको छ ।

 

७५ दिनको समय सीमा राखेर यहाँका सहकारीहरूलाई सूचिकृत हुन आग्रह गर्दै नगरले तोकिएको समयमा अद्यावधिक नभएमा नियमानुसार जरिवाना गर्ने समेत चेतावनी दिएको छ । 

 

जिल्लाका अन्य स्थानीय तहको भन्दा धेरै सहकारी दर्ता भई सञ्चालनमा रहेको यो नगरले अद्यावधिक गर्दै सहकारीहरूको वस्तुस्थिति बुझ्ने र प्रक्रियागत संचालनाम नरहेका सहकारीहरूलाई विधिवत् रूपमा खारेज गर्ने प्रारम्भ सुरु गरेको रूपमा हेरिएको छ । 

 

यसरी अध्वाधिक गर्न नआउने सहकारी संस्थाहरु स्वत: खारेजीको प्रक्रियामा जाने बुझिएको छ । 

 

यो हेर्नुहोस् नगरपालिकाले जारी गरेको पत्र ।

 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार