रामेछापका व्यवसायीहरू माझ ‘सिडिओ’ पौडेल : व्यवसायीलाई हतोत्साहित गर्ने पक्षमा छैनौं तर गुनासो आउनु भएन’ (भिडिओ)

| असोज ९, २०८१ बुधबार

A A A
A A A

९ असोज, रामेछाप । आइतबार देखि रामेछापका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जिम्मेवारी सम्हालेका राजु प्रसाद पौडेलले व्यवसायीहरूलाई हतोत्साहित गर्ने पक्षमा प्रशासन नरहेको बताएका छन् । चाड पर्वको बेलामा चर्को मूल्य वृद्धि भयो भन्ने गुनासो आउने उल्लेख बर्दै बजारमा महँगीको गुनासोलाई सम्बोधन गर्नु आफूहरूको दायित्व रहेको स्मरण गरे । प्रशासन र व्यवसायी बिचको सम्बन्ध नङ र मासुको जस्तो हुनु पर्ने उनको भनाई छ ।

 

मंगलबार रामेछाप उद्योग वाणिज्य संघ रामेछापले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै सिडिओ पौडेलले व्यवसायीहरूले स्वचालित मूल्यमा कारोबार गरे आफूहरूले कुनै पनि हतोत्साहित गर्न पक्षमा नरहेको प्रस्ट पारे । तर, नागरिकले गुनासो गर्ने गरी विषयहरू उठान भए सम्बोधन गर्नै पर्ने धारणा राखे । 

 

चाड पर्वको बेलामा बजारमा हुने कालोबजारी, चोरी, डकैती नियन्त्रण गर्न यहाँका सबै सुरक्षा निकायहरूलाई परिचालित गरिसकेको उनको भनाई छ । उपभोक्तालाई मारमा पार्ने कुरालाई प्रशासनले कडाइ गर्ने बताए । 

 

संघले सिडिओ पौडेलसहित करदाता सेवा कार्यालय मन्थलीकी कर अधिकृत प्रतिमा घिमिरेलाई रातो टिका, टोपी, पछौरी र दुबोको मालाले स्वागत गरेपछि बोल्दै संघका पूर्व अध्यक्ष समेत रहेका व्यवसायी श्याम थापाले चाड पर्वमा आफूहरू यहाँको मागलाई सम्बोधन गर्न लाग्ने बताउँदै केही गलत कुरालाई लिएर प्रशासन निर्मम हुन नमिल्ने धारणा राखे । 

 

त्यस्तै संघका अध्यक्ष नवीन कुमार थापा मगरले यहाँका व्यवसायीहरूलाई प्रशासनले सहजिकरण र सहकार्य गर्ने पक्षमा रहेको बताए । कारोबारको क्रममा केही त्रुटि भए सच्याउने र सच्चिएर जाने बताउँदै उनले व्यवसायीहरूलाई त्रसित बनाउन नमिल्ने आशा व्यक्त गरे । साथै, व्यवसायीका कमी कमजोरीलाई सुधारेर जाने प्रतिबद्धता जनाए ।