डिभिजन वन कार्यालय रामेछापले थाल्यो प्लाष्टिक मुक्त अभियान: नामाडीका स्थानीयले प्लास्टिकको प्रयोग घटाउन निकाले यस्तो जुक्ति

| जेठ १५, २०८३ शुक्रबार

A A A
A A A

१५ जेठ, रामेछाप । डिभिजन वन कार्यालय रामेछापले प्लास्टिक मुक्त वातावरण निर्माणको अभियान थालेको छ । विगत देखि नै यो अभियानमा संचालन गर्दै आएको वन कार्यालय रामेछाप अब गाउँ बस्ती सम्म पुगेर वातावरणलाई स्वच्छ र स्वस्थ निर्माण गर्न प्लास्टिक मुक्त बनाउनु पर्ने सचेतना अभियानमा जुटेको हो । 

 

बिहीबार गोकुलगंगा गाउँपालिका वडा नं ५ नामाडी बजारमा प्लास्टिक मुक्त वातावरण निर्माण गर्नु पर्ने सचेतना कार्यक्रम गरेको डिभिजन वन कार्यालय रामेछापले हाम्रो स–साना गल्तीले वातावरण निकै प्रदूषित हुनुका साथै प्लास्टिक र घरबाट निस्किएका फोहोरको सही व्यवस्थापन गर्न नसक्दा हाम्रै वरपरको वातावरण दुर्गन्धित बन्दै गएको भन्दै चिन्ता व्यक्त गरिएको हो । गोष्ठीमा बोल्दै नामाडी स्थिति कमला देवी माविका प्रधानाध्यापक रविराज खड्काले बालबालिकालाई विद्यालयमा प्लास्टिक भित्रका जङ्फूड्हरु पूर्ण रूपमा निषेध गरिएको भए पनि घर र बजारमा त्यस बारेमा अभिभावकहरूले ध्यान नपुर्‍याउँदा कार्यान्वयनमा निकै चुनौती देखिएको धारणा राखे । ‘हामीले जंग फूड्हरु पूर्ण रूपमा निषेध गरेका छौँ तर बजारमा पनि प्लास्टिक भित्रका खानेकुरा दिई हाल्छन् ।’

त्यस्तै, बजार बढ्दै गइरहेको नामाडी बजारमा बजारलाई सफा र स्वच्छ राख्नको लागि त्यहाँका बजारवासी सचेत हुनु पर्नेमा घर सफा राख्ने बहानामा नजिकै रहेका खोला तथा खोल्सामा फोहोरका डङ्गुर थुपार्ने गरेको भन्दै वडा अध्यक्ष दीपक कार्की सहितका केही अगुवाहरूले चिन्ता व्यक्त गरेका छन् । ‘हामी घर सफा राख्ने बहानामा खोला र ......यो खोल्सालाई यति दुर्गन्धित बनाइसक्यौँ कि......’ केही व्यापारीहरूले बोराका बोरा फोहोर गाडीमा ल्याएर खोलामा फ्याकेको प्रत्यक्ष देखेको सुनाउँदै नियन्त्रणमा लिन आफूले सक्दो प्रयास गरी रहेको वडा अध्यक्ष कार्कीले जिकिरे गरे । 

उनले बजार सफा देखाउन खोलामा फोहोरको डङ्गुर थुपार्न नहुने जिकिर गरे । बजार मात्रै नभएर प्रत्येक घर–घरमै कुहिने र नकुहिने फोहोर छुटाएर राखी त्यसको उचित व्यवस्थापन गर्न वडावासीमा आग्रह गर्दै भने ‘बजार मात्रै हैन हामीले सबै घरबाट निस्कने फोहोरको उचित व्यवस्थापन गर्न जरुरी छ। न...कि खोलामा फुक्नु ।’

 

प्लास्टिक प्रयोगले आफूहरूको दैनिकी निकै सहज भए पनि यसले हाम्रो वातावरणलाई कुरूप बनाउँदै लगेकोमा शिक्षक तथा अभिभावकले समेत गहिरो चिन्ता व्यक्त गरे । कतिपयले प्लास्टिक आयातमा पूर्ण रोक लगाउनु पर्ने माग समेत गरे भने कतिपयले यसको प्रयोग कम गर्दै लानू उचित हुने धारणा अघि सारे । ‘मिल्छ भने अब प्लास्टिक ल्याउन रोक लगाऊँ बरु’ । 

 

आफूहरूको समयमा एउटा थैलो बर्सौँ सम्म टिक्ने अर्थात् पुनः प्रयोग गर्दा वातावरण पनि सफा हुने सुनाउँदै बजारमा बिक्रेताले थैलो नदिने नियम हुँदा आफै घरबाट झोला लिएर जाने संस्कारको विकास गरे मात्रै पनि प्लास्टिकको प्रयोग घट्ने त्यहाँका स्थानीहरूको भनाई छ ।

 

प्लास्टिकका सामाग्रीले जति सहज गरेको छ त्यो भन्दा धेरै हाम्रो वातावरणमा क्षति गरेको तर्क अगाडि सारेका स्थानीयहरूले आगामी दिनमा यसको प्रयोग घटाउन सालको पात र माटोका सामाग्रीको प्रयोग बढाउनु पर्ने धारणा अघि सारे । ‘हाम्रा वरिपरि रहेका विभिन्न पातहरूबाट टपरी, थाल जस्ता सामाग्रीको निर्माण गरी प्रयोग गरौँ यसले रोजगारी पनि सिर्जना गर्छ र प्लास्टिक प्रयोग घटाउँछ ।’

प्लास्टिक जन्य सामाग्रीले हाम्रो दैनिकीमा पुर्‍याइ रहेको टेवा र त्यसले वातावरणमा पारिरहेको जोखिम बारेमा जानकारी गराउँदै डिभिजन वन रामेछापकी रेन्जर उषा किरण भण्डारीले भनिन् ‘हामी सबै सचेत छौँ तर कार्यान्वयन गर्दैनौँ।’ अभिभावकले बालबालिकालाई प्लास्टिकको दुरुपयोग गर्दा पार्ने असर बारेमा ज्ञान दिनु अति नै आवश्यक बनी सकेको औँल्याउँदै भनिन् ‘उनीहरू हाम्रो भविष्य हुन् । त्यसैले सचेत गरौँ।’

 

कार्यालयले विगत देखि नै प्लास्टिक मुक्त वन तथा वातावरण निर्माणमा जोड् दिँदै आएको सुनाउँदै चालु आर्थिक वर्ष २०८२/०८३ मा पनि यसलाई निरन्तरता दिइएको रेन्जर पुष्कर विश्वकर्माले बताए । उनले गोष्ठी निकै लाभदायक भएको विश्वास व्यक्त गर्दै आगामी दिनमा त्यहाँका स्थानीयहरूले प्लास्टिकको प्रयोगमा ध्यान पुर्‍याउने आशा व्यक्त गरे । 

 

सोही क्रममा नामाडी बजारबाट निस्कने सबै खाले फोहोरको व्यवस्थापन गर्न भन्दै ४ वटा डस्बिन कार्यालयले बजार व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । 

रामेछाप टाइम्स
| बैशाख १५, २०८३ मंगलबार