शैक्षिक क्षेत्रको ‘तथ्याङ्किय प्रगतिलाई’ मन्थली नगरको सम्मान

| असार ९, २०८३ मंगलबार

A A A
A A A

०९ असार, रामेछाप । मन्थली नगरपालिकाले शैक्षिक क्षेत्रमा देखिएको तथ्याङ्किय उपलब्धिलाई सम्मान गरेको छ । कक्षा ८ देखि १० सम्मको नतिजामा ४ जिपिए प्राप्त गर्ने विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान र प्रशंसा गर्दै शिक्षा क्षेत्रको सुधारलाई नगरपालिकाले संस्थागत गरेको हो । 

 

सोमबार आगामी आर्थिक वर्ष २०८३/०८४ को लागि १ अर्ब ३ करोड २० लाख १५ हजार रुपैयाँको बजेट र नीति कार्यक्रम घोषणा कार्यक्रमको अवसरमा नगद २० हजार, ५ हजार सहित करिब ५० जनालाई सम्मान र प्रशंसा पत्र प्रदान गरी नगरपालिकाले शैक्षिक उपलब्धिलाई प्रोत्साहन गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले उद्घोष गरे । 

 

गत शैक्षिक सत्र २०८२ को नगर स्तरीय वार्षिक परीक्षा एवं आधारभूत तह उत्तीर्ण परीक्षा कक्षा ८ मा ४ जिपिए अंक ल्याउने मन्थली माविका ४ जना, भैरवी मावि सुनारपानीका २ जना, शारदा मावि मन्थली–११ का १ जना र तामाकोशी इङ्लिस बोर्डिङ स्कुलका ५ जना छात्रा तथा छात्रलाई नगद ५ हजारसहित सम्मान एवं पुरस्कृत गरेको नगरपालिकाले कक्षा १० को वार्षिक परीक्षामा ३ देखि ४ जिपिए ल्याउने ६ वटा विद्यालयको खुलेर प्रशंसा गरेको छ । 

१४ वटा वडा रहेको नगरपालिका भित्र २२ वटा मावि सञ्चालनमा रहँदा एस.इ.इ परीक्षामा धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल मन्थली मावि (वडा नं १) सहित, भैरवी मावि (मन्थली–५), सेतीदेवी मावि (मन्थली–४), कर्कला देवी (मन्थली–१), तामाकोशी बोर्डिङ (मन्थली–१) र लिटिल स्टार इङ्लिस बोर्डिङ (मन्थली–१) गरी ६ वटा मावि विद्यालयलाई प्रशंसा पत्र प्रदान गर्दै नगरपालिकाले ती विद्यालयको नतिजा साँच्चै प्रशंसनीय रहेको उल्लेख गरेको हो । 

 

एस.इ.इ परीक्षाको नतिजालाई नै प्रमुख मूल्याङ्कनको सूची केन्द्रित गरेको पाइएको यो सम्मान हस्तान्तरण गर्दै नगरपालिका प्रमुख लव श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत र प्रमुख प्रशासकीय अधिकृत सापकोटाले शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने शिद्देश्वर मावि (मन्थली–४), सरस्वती मावि, सेतीदेवी मावि (मन्थली–४), भैरवी मावि (मन्थली–५), रुद्रक्षश्वर मावि (मन्थली–७), तामाकोसी बोर्डिङ ‍(मन्थली– १), कर्कलादेवी (मन्थली–१) र लिटिल स्टार बोर्डिङ (मन्थली–१) लाई नगरको शिक्षा क्षेत्रको धरोहरका रूपमा व्याख्या गरिएको हो ।

एक वर्ष अगाडि बालमैत्री नगरपालिका घोषणा गरी विद्यालय र घरपरिवारमा समेत बालबालिकालाई पठनपाठन गर्न सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका एवं जिम्मेवारी निर्वाह गर्नु पर्ने दायित्व दर्साएको यो नगरपालिकाले २०८२ को एस‍.इ.इ. परीक्षामा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने प्रत्येक विद्यार्थीलाई नगद २० हजारसहित सम्मान गर्दै मेहनती विद्यार्थीको क्षमताको कदर गरेको छ । विद्यालय स्तरमै उत्तर पुस्तिका परीक्षण गरिएको र विद्यार्थीहरूको नतिजा सन्तोष जनक नरहेको भन्दै बेला बखत आवाज उठिरहेको अवस्थाबाट माथि उठेर नगरपालिकाले प्राप्त नतिजालाई सम्मान गरेको जनाएको छ । 


कक्षा १० उत्तीर्ण गरी माथिल्लो कक्षमा भर्ना समेत भइसकेका विद्यार्थीहरूलाई डाकेर उनीहरूको उच्च शिक्षामा टेवा पुर्‍याउने उद्देश्य अनुसार नगद २० हजारसहित सम्मा पत्रले सम्मान गरिएको हो । नगरभरका २२ जना विद्यार्थीले एस इ इ परीक्षामा आफ्नो उच्च क्षमता प्रदर्शन गर्दै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा खुसी व्यक्त गरेको नगरपालिकाले मन्थली माविका २ जना, भैरवी माविका २ जना, सेती देवी माविका २ जना, केब्सका १ जना, तामाकोशी बोर्डिङका १० जना, लिटिल स्टार बोर्डिङका ५ जना विद्यार्थीलाई सम्मान गर्दै उच्च शिक्षाको लागि नगरपालिकाले सकेको सहयोग गर्ने प्रतिबद्धता समेत जनायो । 

विगतका वर्षहरूको बजेट घोषणा सभामा उत्कृष्ट कर्मचारी, सवारी चालक, स्वास्थ्यकर्मी लगायतका विभिन्न कर्मचारी र जनप्रतिनिधिहरूलाई सम्मान गर्दै आएको ‘हिस्ट्रिलाई’ पन्छाउँदै यो वर्ष नगरपालिकाले शैक्षिक क्षेत्रको उपलब्धिलाई स्वागत एवं खुसीसहित सम्मान गरेको भन्दै चौतर्फ प्रशंसा कमाएको हो ।