लिखु जलविद्युत् आयोजनाबाट प्रभावित नागरिक निरन्तर आन्दोलनमा, प्रभावितको माग सम्बोधन गर्न उमाकुण्ड गाउँपालिकाको आग्रह

| जेठ २९, २०८३ शुक्रबार

A A A
A A A

२९ जेठ, रामेछाप । जलविद्युत आयोजनाले स्थानीयहरूको माग र नियम अनुसार पूरा गर्नु पर्ने आफ्नो जिम्मेवारी समेतलाई लत्त्याएपछि आन्दोलनमा उत्रिएका प्रभावितहरूको पक्षमा उमाकुण्ड गाउँपालिकाले साथ दिएको छ । विज्ञप्ति जारी गर्दै गाउँपालिकाले आयोजना प्रभावित नागरिकहरूले उठाएका मागलाई गम्भीर ध्यान दिन पालिकाले आयोजना कार्यालयलाई ध्यानाकर्षण गराएको हो । 

 

रामेछापको उमाकुण्ड गाउँपालिकाको लाच्छेवर, बुकुदोभान र ठाडो खोला र सोलुखुम्बु जिल्लाको लिखु पिके गाउँपालिका स्थित दोभान फेदी लगायतका स्थानमा एमभी दुगड समूहद्वारा सञ्चालित लिखु–१,  लिखु–२ र लिखु–ए जलविद्युत आयोजना सञ्चालनमा छन् । केही हाइड्रोपावर कम्पनीले नियमित विद्युत् उत्पादन समेत थालेको अवस्था छ। यस अगाडि दुवै तर्फका स्थानीयहरूले गठित समिति मार्फत आफ्ना हक अधिकार र वातावरणीय सुरक्षा सुनिश्चित गर्न मानपत्र बुझाएका थिए । उक्त माग पत्र बुझाएको ६० दिन बितिसक्दा समेत कुनै पहल नभएपछि प्रभावितहरू आन्दोलनमा उत्रिएको उनीहरूको भनाई छ ।पटक–पटक आयोजनाले आफूहरूसँग गरेका सम्झौतालाई उल्लङ्घन गर्ने, आयोजनाको लापरबाहीको कारण बर्खा सुरु हुन साथ ठाउँ–ठाउँबाट पानी चुहावट हुने लगायतका विविध समस्याको समाधान नहुँदा आफूहरू आन्दोलनमा उत्रिएको स्थानीहरूको भनाई छ । ‘यसअघि गाउँपालिका, आयोजना प्रतिनिधि तथा प्रभावित नागरिकबिच भएका छलफल र सहमतिका केही बुँदा कार्यान्वयनमा ढिलाइ हुँदा समस्या थप जटिल बन्दै गएको’ गाउँपालिकाको विज्ञप्तिमा उल्लेख गरिएको छ।

पालिका अध्यक्ष शेरबहादुर सुनुवारले जारी गरेको विज्ञप्तिमा स्थानीय प्रभावित नागरिकलाई वितरण गरिनुपर्ने प्राथमिक सेयर, आयोजनाबाट उत्पन्न वातावरणीय प्रभावको न्यूनीकरण, सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्नु पर्ने बजेट जस्ता विषयमा पटक–पटक सम्झौता गरी कार्यान्वयन नहुँदा आफूहरू समेत नाजवाफ बन्नु परेको भनिएको छ । आयोजना सञ्चालन गर्दा स्थानीय समुदायको हित, अधिकार र भावनालाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै प्रभावित क्षेत्रका नागरिकसँग तत्काल संवाद गरी उनीहरूका जायज माग सम्बोधन गर्न आग्रह गरेको छ। साथै भविष्यमा यस्ता विवाद दोहोरिन नदिन आयोजनाहरूले कानुनअनुसारका दायित्व समयमै पूरा गर्नुपर्नेमा जोड दिएको छ।

 

अध्यक्ष सुनुवारद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्थानीय समुदाय र आयोजना पक्षबिच सहकार्य, पारदर्शिता र विश्वासको वातावरण निर्माण गर्न सबै पक्षलाई जिम्मेवार बन्न आह्वान गरिएको छ। गाउँपालिकाले प्रभावित नागरिकका समस्याप्रति संवेदनशील भई आवश्यक पहल गर्न सम्बन्धित निकायहरूलाई समेत अनुरोध गरेको छ।

युवाहरू सक्रिय

पालिकाभित्र आयोजनाले स्थानीय नागरिकहरूका मागलाई लत्त्याउने गरेको भन्दै अब निर्णायक आन्दोलन एवं निर्णय गरेरै छाड्ने भन्दै स्थानीय युवाहरू ठाउँ–ठाउँबाट सक्रिय हुन थालेका छन् । सामाजिक सञ्जाल फेसबुक, वाट साप जस्ता सञ्जालहरूमा सक्रिय बन्दै युवाहरूले काठमाडौँमा सांसद गुहार्ने देखि विभिन्न ठाउँमा पीडितहरूको मागलाई सम्बोधन गर्ने तह सम्म पुर्‍याउने अभियान थालेका छन् । यो आन्दोलनमा प्रभावित नागरिक मात्रै नभएर प्रभावित क्षेत्र आसपासका स्थानीयहरू समेत सहभागी हुन थालेका छन् । विशेष गरी युवाहरूले आन्दोलनको अगुवा गर्न लागेको पाइएको हो ।