नेपाली काँग्रेस रामेछापमा ५२७० जनाले काँग्रेसको सदस्यता अध्यवाधिक गरे, ४८ प्रतिशत नयाँ
२९ जेठ, रामेछाप । नेपाली काँग्रेस रामेछापमा करिब ६० प्रतिशत कार्यकर्ताले ‘अनलाइन सदस्यता अध्यवाधिक’ गराएका छन् । गए राति १२ बजे देखि बन्द गरिएको सदस्यता अध्यवाधिक कार्य सम्पन्न हुँदा सम्म जिल्ला भरका ५ हजार २ सय ७० जना नेता कार्यकर्ताले सदस्यता विवरण मोबाइल एपमा गइ तोकिएको सिस्टम पुरा गरेर आफ्नो सदस्यता कायम गराएको नेपाली काँग्रेस रामेछापका कार्यवाहक सभापति नवराज थरकोले रामेछाप टाइम्सलाई बताए । ५ हजार २ सय ७० जनाको सदस्यता नवीकरण हुँदा २ हजार ५ सय ४६ जना भने नयाँ सदस्यले पार्टीको सदस्यता लिएको बताइएको छ । यो भनेको कूल नवीकरण भएको सदस्य संख्याको ४८.३२ प्रतिशत हो ।
यस अगाडि रामेछापमा करिब ११ हजार ३ सय १९ जना क्रियाशील सदस्यता रहेको काँग्रेस रामेछापले भन्दै आएको थियो । केन्द्रमा संस्थापन पक्षले सदस्यता अद्यावधिक कार्य नै प्रमुख जिम्मेवारीको रूपमा अगाडि बढ्दा संस्थापन इत्तर समूहले भने ‘विवाद समाधान’ भई नसकेकाले सदस्यता अद्यावधिक गर्न नसकिने तर्क राख्दै आएका छन् । सोही अनुसार देउवा–शेखर र ५ भाइ उपनामले चिनिँदै आएको एक समूहले सदस्यता अद्यावधिक नगरेको बुझिएको छ । तर, रामेछापमा भने त्यसको ठुलो प्रभाव नदेखिएको नेताहरूको विश्लेषण छ ।
पार्टीको केन्द्रबाट निलम्बनमा परेका सभापति एवं पूर्व राज्य मन्त्री पूर्ण बहादुर तामाङ (कान्छाराम) ले भने केन्द्रीय सभापति गगन थापासँगको टकरावका कारण सदस्यता नवीकरण गरे, नगरेको विषय बाहिर आएको छैन ।
शुक्रवार रामेछाप टाइम्ससंग कुरा गर्दै सभापति थरकोले भने ‘सुरु सुरुमा प्राविधिक विषयमा केही समस्या बाहेक सबैले आ–आफू लागेर आफ्नो सदस्यता लिनु भएको हो ।’ कार्यवाहक सभापति थरकोले जिल्लाको गुम्देल देखि गोश्वारा सम्मका पार्टीप्रति आस्था राख्नहरुले आफै चासो र सक्रियता देखाएर सदस्यता विवरण भरेको बताए । ‘गाउँ–गाउँबाट कसरी गर्ने, वटिपी दिन्छु भरिदिनुस् समेत भरेर वडा सभापति साथीहरूलाई भन्नु भयो।’
पार्टीले प्रविधिसँग जोड्दै सदस्यता विवरणलाई प्रविधि मैत्री बनाएकोमा खुसी व्यक्त गरेका सभापति थरकोले अद्यावधिक भएको विवरण क्रियाशील काँग्रेसहरूको रहेको जिकिर गरे । ‘यो काम पहिले नै हुनु पर्ने काम हो ढिला गरियो भए पनि सुरक्षित र दिगो काम भएको छ।’
केन्द्रले सदस्यता अद्यावधिक गराउन गरेको परिपत्र लगत्तै वृहज जिल्ला भेला डाकेर ६४ वटै वडाका सभापतिहरू मार्फत तल्लो तहमा सदस्यता अध्यवाधिक जानकारी र जिम्मेवारी तोकेको काँग्रेस रामेछापले जिल्ला उपसभापति लेखबहादुर कार्कीलाई अनलाइन सदस्यता नवीकरण एवं अध्यवाधिक गराउन सहजीकरण सहितको जिम्मेवारी दिएको थियो ।
गएरातिबाट सदस्यता अद्यावधिकको मिति सकिएपछि उपसभापति कार्कीले ‘क्रियाशील सदस्य लिएका र लिने सबैलाई धन्यवाद दिएका छन्’ । सामाजिक सञ्जालमा लेख्दै उपसभापति कार्कीले सदस्यता अद्यावधिक कार्यले पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र गतिशील बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको विश्वास लिएको उल्लेख गरेका छन् ।
निर्वाचनमा तेस्रो जनमत प्राप्त गरेको काँग्रेस रामेछापले पार्टीको सदस्यता लिएर भोट नहाली धोका दिने, प्रतिनिधि धेरै जान पाउने बहानामा तल्लो तहमा जबरजस्ती क्रियाशील वितरण गराएर धेरै देखाउने गतिविधिले पार्टीको आन्तरिक मूल्याङ्कनमा कमजोर भएपछि अब सच्याउने ठाउँमा आइपुगेको धेरैको विश्लेषण छ ।
