बजेटमा विद्यार्थी र युवाका माग सम्बोधन नभएको भन्दै रचनात्मक व्यङ्ग्य र प्रदर्शन

| जेठ २४, २०८३ आइतबार

A A A
A A A

२४ जेठ, काठमाडौँ । युवा तथा विद्यार्थीहरूको हित, सशक्तीकरण र नीति निर्माण प्रक्रियामा उनीहरूको आवाजलाई सशक्त पर्ने उद्देश्यले स्थापना गरिएको (सिआभिआइसिएस) विद्यार्थीको संस्थाले काठमाडौँ माइतीघर मण्डलामा सडक नाटकसहित प्रदर्शन गरेको छ । कक्षा ११–१२ मा अध्ययनरत विद्यार्थीहरूको समूहले युवा पुस्ताले भोगिरहेका महत्त्वपूर्ण विषयलाई समेटेर सडक नाटक प्रस्तुत र प्लेकार्ड प्रदर्शनी गरेका हुन् । 

 

आइतबार आफूहरूले वर्तमान अवस्थामा विद्यार्थीहरूले भोग्दै आएका विविध समस्या र जटिलतालाई केन्द्रमा राखेर सरोकारवालाहरूको ध्यानाकर्षण होस् भन्ने उद्देश्यले सडक नाटक र प्लेकार्ड प्रदर्शन गरेको विद्यार्थी आदित्य बुढाथोकीले बताए । उनका अनुसार विद्यार्थीका लागि सम्मानजनक पार्ट–टाइम रोजगारी, व्यावहारिक तथा सीपमूलक शिक्षा र कक्षा १२ पछिको प्रभावकारी मार्गदर्शनको मागको लागि नाटक मार्फत उजागर गरिएको हो । 

 

आफूहरूले देशमा बढ्दो प्रतिभा पलायन (ब्रेन ड्रेन) को विषयलाई पनि गम्भीरता पूर्वक उठान गरेको अर्का सहभागी सुदीप खड्काले बताए । ‘विदेश जानु समस्या होइन, तर आफ्नै देशमा अवसर’को अभावका कारण सक्षम युवाहरू पलायन हुनु दुखद रहेको भन्दै सरकारले यसलाई गम्भीरता पूर्वक काम गरोस् भन्नको लागि आफूहरू सडकमा निस्किएको उनको भनाई छ । 

 

वर्तमान सरकारले शिक्षा, नवप्रवर्तन र युवा सशक्तीकरणलाई केन्द्रमा राख्ने नीतिगत सुधारहरू गर्नु पर्ने आवश्यकता मात्र नभई अपरिहार्य बनिसकेको भन्दै तत्काल कार्य अगाडि बढाउन उनीहरूले माग गरे । शान्तिपूर्ण प्रदर्शनीमा युवाहरूले सरकारले हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रम तथा बजेटमा विद्यार्थी र युवालाई लक्षित (रोजगारमुखी) कार्यक्रम नसमेटिएको भन्दै प्रश्न गरे ।