फर्पुमा गाडी दुर्घटनामा परी गोकुलगंगा गाउँपालिका–४ बेतालीका वडा अध्यक्ष बस्नेतको घटनास्थलमै मृत्यु

| मंसिर १४, २०८१ शुक्रबार

A A A
A A A

१४ मंसिर, रामेछाप । गोकुलगंगा गाउँपालिका वडा नं ४ का निर्वाचित वडा अध्यक्ष रामचन्द्र बस्नेतको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । उनी नेपाली कांग्रेस पूर्व जिल्ला कार्यसमिति सदस्य समेत हुन् । 

 

शुक्रवार (आज) १ ः ५० बजेको समयमा सोही पालिकाको वडा नं ६ फर्पुको सिमलडांडा भीर स्थित (जिरो किलो नजिक) खिम्ती– बेताली सडक खण्डमा ना १ ज ७१२३ नं को फोर्स गाडी अनियन्त्रित भएर पल्टिँदा वडा अध्यक्ष बस्नेतसहित ५ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो । 

 

काठमाण्डौबाट बेताली आउँदै गरेको उक्त गाडी सडकबाट पल्टिएर अन्दाजी ३०० मिटर तल खसेको छ । नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष बस्नेत अन्दाजी ४०–४६ वर्षका थिए । 

 

गत निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गर्दै निर्वाचित भएका रामचन्द्र स्थानीयहरूका प्यारा (लोकप्रिय) थिए । विकास निर्माणसँगै जनताको पिर मर्कालाई नजिकबाट साथ दिन्थे । 

 

८ जना सवार गाडी दुर्घटनामा वडा अध्यक्ष बस्नेतसहित ५ जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता कौशल न्यौपानेले जानकारी दिए । 

 

घाइते एक बालिकासहित ३ जनालाई उपचारको लागि मन्थली अस्पताल ल्याइएको छ । उनीहरू सबैको अवस्था मध्यम रहेको बुझिएको छ । 

रामेछाप टाइम्स
| मंसिर ४, २०८१ मंगलबार