स्वर्गीय वडा अध्यक्ष बस्नेतको ‘सपना’ पार्टीले पूरा गर्छ – सभापति तामाङ
२८ पुस, रामेछाप । नेपाली काँग्रेस जिल्ला पार्टी सभापति एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले गाडी दुर्घटनामा परी स्वर्गीय वडा अध्यक्ष रामचन्द्र बस्नेतको सपना पार्टीले पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । जिल्लाको समृद्धिको लागि आफूले माथिल्लो निकायबाट धेरै भन्दा धेरै बजेट ल्याएरै छाड्ने उनको जिकिर छ ।
आइतबार गोकुगंगा गाउँपालिका–४ बेतालीमा स्वर्गीय बस्नेतको ४५ औँ श्रद्धाञ्जली सभा कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सभापति तामाङले पार्टीले निष्ठावान् कार्यकर्ता गुमाउँदा दुःखित रहेकाले उनले देखेका सपना पार्टीले पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
स्वर्गीय वडा अध्यक्ष बस्नेतको निजी निवासमा आयोजित श्रद्धाञ्जली सभामा राज्य मन्त्री समेत रहेका सोही पालिका निवासी सभापति तामाङले बेताली सहित सिंगो गोकुलगंगालाई समृद्ध र विकसित बनाउने धोको पार्टीले पूरा गर्ने दोहोर्याए । स्वर्गीय वडा अध्यक्ष बस्नेतको परिवारका सदस्यलाई सान्त्वना दिँदै सभापति तामाङले भने ‘तपाईँहरू पार्टीलाई विश्वास गर्नुहोस् । सहयोग गर्नुहोस् । पार्टीले उहाँको सपना पूरा गर्छ ।’
केन्द्रीय सदस्य मदन आमत्यसहितको उपस्थितिमा भएको श्रद्धाञ्जली सभामा बोल्दै सभापति तामाङले आफूले जिल्लाकै विकासको लागि दिनरात खटेकाले यहाँका जिल्लावासीको समेत साथ र सहकार्य चाहिएको धारणा राखे । राज्य मन्त्रीको जिम्मेवारीमा पुगेपछि हाल सम्म गरेका कार्यहरु उल्लेख गर्दै पार्टीका कार्यकर्ताहरुको साथ र सहकार्य आवश्य रहेको बताए ।